चीनको छोइछिङ सहरबाट पोखरा र लुम्बिनीमा सिधा हवाई उडानका लागि एमाले महासचिवको प्रस्ताव



काठमाडौँ । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीन भ्रममा रहेका नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनको छोइछिङ सहरबाट सीधा हवाई सेवा सञ्चालनका लागि प्रस्ताव गरेका छन् ।

महासचिव पोखरेल नेतृत्वको टोली र चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य एवं छोइछिङ सहर कमिटीका सचिव युआन जियाजुनसहितका नेताबीच आज छोइछिङ सहरमा भएको भेटवार्तामा उक्त प्रस्ताव गरिएको हो । उक्त सहर विश्वकै बढी जनसङ्ख्या भएको महानगर मानिन्छ ।

महासचिव पोखरेलले अरनिको र भृकुटीबाट जोडिएका दुई देशबीको सम्बन्ध लामो समयदेखि सौहार्द रहेको र एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा भएको चीन भ्रमणबाट अझ प्रगाढ भएको उल्लेख गरे । एमालेका अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका समयमा भएको व्यापार तथा पारवाहन सम्झौता नेपालले तेस्रो मुलुकसँगको व्यापारिक मार्गका लागि महत्त्वपूर्ण भएको र सोको प्रभावकारी कार्यान्वयन होस् भन्ने पक्षमा पार्टी रहेको अवगत गराए । महासचिव पोखरेलले चीनको विकासको अनुभव र ज्ञानलाई नेपालको समृद्धिको यात्रामा उपयोगका लागि युवाको अनुभव आदानप्रदान गराउन पनि जोड दिएका थिए ।

भ्रमण दलमा सहभागी एमालेका स्थायी समिति सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख डा राजन भट्टराईका अनुसार नेपालको औद्योगीकरण, पूर्वाधार विकास, कृषि, पर्यटनलगायत क्षेत्र तथा नेपालको आर्थिक विकास र सामाजिक रुपान्तरण खासगरी नेपालको गरिबी निवारणलाई अन्त्य गर्न नेपालले आवश्यकता र अनुकूलताअनुसार चीनको सहयोग लिन सक्ने विश्वास चीनिया पक्षबाट प्राप्त भएको छ । नेता डा भट्टराईले उक्त सहर नेपालको हावापानी र भूगोलसँग मिल्दोजुल्दो भएको र नेपाल भ्रमण गरिसकेका चीनको उदाउँदो राष्ट्रिय नेता जियाजुनका तहबाट यस प्रकारको सदीक्षा आउनुले दुई देशका सरकार, जनता र दुई पार्टीबीच आगामी दिन अझ सुमधुर सम्बन्ध विकास हुने विश्वास व्यक्त गरे ।

भेटका अवसरमा नेता जियाजुनले आफू गत साउनमा नेपालको भ्रमणमा रहँदा नेपाली जनताको तीव्र आर्थिक विकासको चाहना रहेको पाएकाले त्यसका लागि चीनका तर्फबाट सक्दो सहयोग हुने बताए । उनले चीन र छोइछिङको विकासको अनुभवबाट नेपालले लाभ लिन सक्ने र खास गरी नेपालका धान उत्पादनका लागि उच्च प्रविधि र ज्ञान दिन आफूहरू तयार रहेको जनाएका थिए । उनले चीनका राष्ट्रपति सि जिनपिङको नेपालको औपचारिक भ्रमणका समयमा भएका सम्झौताको कार्यान्वयन गर्न आफूहरू तयार रहेको स्पष्ट गरेका थिए । छोइछिङ सहरबाट सीधा हवाई उडानका लागि दुई देशका केन्द्र सरकारका नागरिक उड्डयनसँग सम्बन्धित निकायबीच संवाद हुनुपर्ने उनको भनाइ थियो ।

उनले नेपाली विद्यार्थीका लागि छात्रवृत्तिलगायत सहयोग जारी राख्ने स्पष्ट गरेका थिए । भेटमा नेपाली टोलीका तर्फबाट डा भट्टराई, स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतम, नेता ज्वालाकुमारी शाहलगायत तथा चिनियाँतर्फबाट चिनियाँ कम्युनिष्ट पार्टीका छोइछिङ सहर कमिटीका उपसचि ली मिङछिङ, उक्त नगर कमिटीका स्थायी कमिटी सदस्य चेन सिनयुलगायत सहभागी थिए ।

केपी ओली देशभक्त नेताको रुपमा पाएँः जियाजुन
नेता जियाजुनले नेकपा (एमाले) र चिनियाँ कम्युनिष्ट पार्टीबीचको सम्बन्ध पुरानो र गहिरो भएको उल्लेख गर्दै भबिष्यमा पनि दुई पार्टीबीच ज्ञान, अनुभव र विचार आदानप्रदान जारी राख्नु पर्ने बताए ।

नेता जियाजुनले गत साउनमा नेपाल भ्रमणका क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट भएको उल्लेख गर्दै अध्यक्ष ओलीलाई आफूले एक देशभक्त नेताको रुपमा पाएको बताए ।

गत साउनमा आफ्नो नेपाल भ्रमणका क्रममा नेपालीहरुको विकास र आर्थिक समृद्धिको तीव्र चाहना पाएको उल्लेख गर्नुहुदै जियाजुनले नेपालको बिकासमा सहयोगका लागि चीन तत्पर रहेको बताए ।

आर्थिक विकासको लागि शहर र गाउँ, धनी र गरीबीचको असन्तुलनलाई हटाउन जरुरी रहेको उल्लेख गर्दै जियाजुनले यसका लागि छोङछिङको सफल अनुभव रहेको बताए । उनले छोङछिङको सफल अनुभव र ज्ञान नेपालको आर्थिक विकासका लागि महत्वपूर्ण हुने र नेपालसँग सहकार्य गर्न तयार रहेको बताए ।

उनले दक्षिण एशियाको गरिबी निवारणका लागि छोङछिङ केन्द्र रहेको उल्लेख गर्दै नेपालको समृद्धिका लागि कृषि, पर्यटन र उद्योगमा सहयोग गर्न तयार रहेको बताए ।

नेपालको विकासमा चीनको महत्वपूर्ण भूमिकाः महासचिव पोखरेल
महासचिव पोखरेलले नेपाल र चीनबीच जनस्तरमा धेरै पुरानो सम्बन्ध रहेको बताएका बताए ।
भृकुटी र अरनिकोदेखि नै जनस्तरमा सम्बन्ध रहेको उल्लेख गर्नु हुदै सन् १९५५ मा प्रथम जननिर्वाचित प्रधानमन्त्री मनमोहन अधिकारीको चीन भ्रमण चीन र नेपालबीचको सम्बन्ध महत्वपूर्ण रहेको स्मरण गरे ।
एमाले महासचिव पोखरेलले केपी शर्मा ओली प्रधानमन्त्री हुँदा चीनसँग भएको व्यापार तथा पारवहन सम्झौताले नेपालको राष्ट्रिय स्वाधिनता र गौरवमा वृद्धि गरेको बताए।
ुभृकुटी र अरनिको समयदेखि नै जनस्तरको सम्बन्ध रहेको छ । चीनको क्रान्तिका बारेमा बुझ्न नेपाली नेताहरूले तीन महिना हिँडेर पनि आफ्नो अनुभव लिएका थिएका थिए । सन् १९५५ मा मनमोहन अधिकारीको चीन भ्रमण गरेका थियो र मदन भण्डारीको चीनको भ्रमणले पनि विचार निर्माणमा महत्त्वपूर्ण भूमिका रहेको थियो । केपी शर्मा चीनसँग पारवहन सम्झौता तेस्रो देशमा जाने बाटो र राष्ट्रिय स्वाधिनता र गौरव बढेको महासचिव पोखरेलले बताए ।

प्रकाशित मिति : १९ भाद्र २०८०, मंगलबार  ९ : ३२ बजे