प्रधानमन्त्री दाहाल र संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसबीच न्यूयोर्कस्थित मुख्यालयमा आइतबार भेटवार्ता भएको छ । भेटमा उनीहरु बीचमा नेपालको शान्ति प्रक्रियाको बाँकी काम सम्पन्न गर्ने, जलवायु परिवर्तन, शान्ति स्थापना, आपसी सहकार्य र साझेदारीलगायत विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका पुगेका छन् । उनले यही असोज ४ गते महासभालाई सम्बोधन गर्ने कार्यतालिका छ ।

विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गरिन्छ
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गरिने जानकारी दिएका छन् । संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा सहभागी हुन अमेरिकामा रहनुभएका उनले त्यहाँस्थित नेपाली सञ्चारकर्मीसँग आइतबार भएको भेटमा नेपाली नागरिकलाई मतादानको अधिकारबाट बञ्चित हुन नदिइने बताए ।

उनले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको व्यवस्था मिलाउन निर्वाचन आयोगलाई निर्देशन दिइसकेको जानकारी दिए । प्रधानमन्त्री दाहालले भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि जस्तोसुकै कदम चाल्न पनि सरकार तयार रहेको बताए । सरकारले गरेका राम्रा र सकारात्मक कुरालाई भन्दा पनि कसरी बदनाम गर्न सकिन्छ भन्ने गिरोह सक्रिय रहेको उनको भनाइ थियो ।

प्रकाशित मिति : १ आश्विन २०८०, सोमबार  १० : ३३ बजे