काठमाडौं । सरकारले इजरायलमा जारी द्वन्द्वमा परी निधन भएका नेपाली नागरिकको शव यथाशीघ्र स्वदेश ल्याउन जहाज तयारी अवस्थामा राख्ने र इजरायली पक्षसँग समन्वय गर्ने निर्णय गरेको छ ।
इजरायलमा जारी द्वन्द्व र यसको मारमा परेका नेपाली नागरिकबारे आवश्यक निर्णय लिन परराष्ट्रमन्त्री एनपी साउदको संयोजकत्वमा गठित समन्वय संयन्त्रको आज बसेको बैठकले सो निर्णय गरेको हो । बैठकले इजरायलमा रहेका नेपाली नागरिकलाई सुरक्षित स्थानान्तरण गर्ने उपाय खोज्ने समेत निर्णय गरेको छ ।
नेपाल सरकारले आइतबार मन्त्री साउदको संयोजकत्वमा उक्त संयन्त्र गठन गरेको थियो । संयन्त्रले निरन्तर अनुगमन र वस्तुस्थितिको समग्र मूल्याङ्कन गरेर नेपाली नागरिकको अवस्था पहिचान गर्ने, उद्धार गर्नुपर्ने अवस्थामा उक्त कार्यसमेत गर्न आवश्यक निर्णय लिने, समन्वय तथा सहयोग गर्नेलगायतका सम्पूर्ण कामहरु गर्नेछ ।
प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद्को विशेष बैठक आह्वान, साँझ सर्वदलीय बैठक पनि बस्ने
इजरायलमा विकसित पछिल्लो घटनाक्रम र त्यहाँ रहेका नेपाली नागरिकको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती, राहतलगायत विषयमा छलफल गरी निर्णयमा पुग्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्को विशेष बैठक बोलाएका छन् ।
आज अपराह्न ४ बजे सिंहदरबारमा बोलाइएको बैठकमा इजरायलमा विकसित पछिल्लो परिस्थिति, त्यहाँ रहेका नेपालीको अवस्था, उनीहरुको स्वदेश फिर्तीका लागि सरकारले चाल्नुपर्ने कूटनीतिक पहल, प्राविधिक व्यवस्थापनलगायतका विषयमा छलफल हुने प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।
मन्त्रिपरिषद्को बैठकपछि प्रधानमन्त्री दाहालले बेलुका ५ बजे सिंहदरबारमा नै सर्वदलीय बैठक पनि बोलाएका छन् । बैठकमा सोही विषयमा छलफल हुनेछ । नेपाली समयअनुसार शनिबार बिहान इजरायलमा भएको आक्रमणपछि प्रधानमन्त्री दाहालले लगातार घटनाप्रति चासो राख्दै सरकारको तर्फबाट आवश्यक पहल गरिरहेका छन् ।
प्रधानमन्त्री दाहालले इजरायल–हमास युद्धले निम्त्याएको सङ्कट र नेपाली नागरिकहरूमा देखिएको त्रास तथा उनीहरूको उद्धार र नेपाल फिर्तीका लागि कूटनीतिक पहल गरिरहेका छन् । सो सन्दर्भमा प्रधानमन्त्री दाहालले असोज २० गते घटनाको भत्र्सना गर्दै नेपाली नागरिकका परिवारमा सहानुभूति प्रकट गरेका छन् । प्रधानमन्त्री दाहालले इजरायलस्थित नेपाली दूतावासमा घाइते नेपाली नागरिकको अवस्था बुझी उद्धारका लागि पहल लिन परराष्ट्र मन्त्रालयमार्फत निर्देशन दिएका छन् ।
इजरायल–हमास युद्धमा परेका र फसेका नेपालीहरूको अवस्थाबारे यकीन गर्न र उनीहरूको उद्धार गर्नका लागि आइतबार बिहान प्रधानमन्त्री दाहालले बालुवाटारमा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री, उपप्रधानमन्त्री एवम् गृहमन्त्री, परराष्ट्रमन्त्री, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकार, परराष्ट्र मनत्रालयका सचिव र सुरक्षा अङ्गका प्रमुखहरूको आकस्मिक बैठक बोलाएका थिए।
सो बैठकले परराष्ट्रमन्त्री साउदको संयोजकत्वमा परराष्ट्र, शिक्षालगायत सम्बन्धित मन्त्रालयका प्रतिनिधि, सुरक्षा अङ्गका प्रतिनिधि, विदेशस्थित दूतावास, नियोग सम्मिलत एक ¥यापिड एक्सन टीम गठन गरेको थियो । नेपालीको उद्धार र फिर्तीसम्बन्धी आवश्यक गृहकार्यका लागि आज विहान उक्त टीमको बैठक बसिरहेको छ ।
सरकारले इजरायलबाट स्वदेश फर्किन चाहने नेपाली नागरिकलाई फिर्ता ल्याउने प्रयोजनका निम्ति लगत सङ्कलन र द्रूत सूचना संयन्त्रसमेत खडा गरिसकेको छ ।
प्रतिक्रिया