धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेशको अध्यक्षमा कृष्णप्रसाद जैशी निर्विरोध निर्वाचित भएका छन् । अध्यक्ष पदमा मनोयन दर्ता गराएका निवर्तमान उपाध्यक्ष कमलप्रसाद तिमिल्सिना, वचनबहादुर सिंह र भरत साउदले उम्मेदवारी फिर्ता लिएपछि जैशी निर्विरोध निर्वाचित भएका हुन् । निवर्तमान प्रदेश सचिवालय सदस्य रहेका जैशी तत्कालीन अछाम जिल्ला विकास समितिका सभापति थिए ।
अन्य पदाधिकारीहरु पनि सर्वसम्मत भएका छन् ।
उपाध्यक्षमा बाजुराका कालीबहादुर शाही सर्वसम्मत भएका छन् । हरिसिंह साउद, बलदेव रेग्मी, रणबहादुर महरा, हजारीसिंह साउद र गजेन्द्र बहादुर शाहीले उम्मेदवारी फिर्ता लिएपछि शाही सर्वसम्मत भएका हुन् ।
सचिवमा कैलालीका रणबहादुर चन्द पनि सर्वसम्मत चयन भएका छन् । सचिवका प्रत्यासी राजेश खाती, जीवनबहादुर बम र रतनबहादुर रेग्मीले उम्मेदवारी फिर्ता लिएपछि चन्द सर्वसम्मत भएका हुन् ।
उपसचिव (खुल्ला) मा कञ्चनपुरका नरबहादुर विक र उपसचिव (महिला) मा कैलालीकी भागरथी विष्ट सर्वसम्मत भएका छन् ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशनपछि निर्वाचन प्रक्रिया लम्ब्याएर मंगलबारदेखि नेताहरूले सर्वसम्मतिको प्रयास गरेका थिए । विभिन्न पदमा आकांक्षा राखेका उम्मेदवारहरूलाई अन्यत्र व्यवस्थापन गर्ने आश्वासनसहित उम्मेदवारी फिर्ता गराइएको स्रोतले बतायो ।
प्रतिक्रिया