स्यार्पु महोत्सवः स्थानीयको आयआर्जनमा सहज



रुकुमपश्चिम । नेपालका एक सय पर्यटकीय गन्तव्यस्थलमध्येको बाँफीकोट गाउँपालिकामा रहेको स्यार्पु ताल पनि एक हो । सो ताल जिल्लाको भने मुख्य पर्यटकीय गन्तव्यका रुपमा परिचित छ । ताल अवलोकनका लागि आन्तरिकसँगै बाह्य पर्यटकसमेत आउने गरेका छन् ।

वडा नं ३ र ५ को बीचमा पर्ने स्यार्पु तालले असारदेखि कात्तिकसम्म भरिभराउ भएर जो कसैको पनि मन लोभ्याइरहेको हुन्छ । सिमै छरी लेकबाट दादुरे हुँदै झर्ने निश्चल पानीले स्यार्पुलाई थप सुन्दर बनाएको छ । स्पार्पुगाउँ र दह गाउँको काखमा रहेको सुन्दर स्यार्पुले यहाँका स्थानीयलाई आन्तरिक तथा बाह्य पर्यटक आउँदा आर्थिकरुपमा टेवा पुर्‍याएको छ ।

करिब दुई दशमलव छ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको स्यार्पु तालको आकार भने वर्षा र हिउँदमा फरक हुन्छ । हिउँदको तुलनामा वर्षामा तालको आकार दोब्बर बढी हुन्छ । असारबाट भरिन सुरु गरेको ताल साउनको अन्तिमतिर आइपुग्दा पूरा भरिन्छ । स्यार्पु ताल अवलोकन गर्ने पर्यटकको सङ्ख्या पनि यो बेला धेरै हुने गरेको छ ।

शनिबारको समय मिलाएर फ्रेस हुन बिदाको दिन छिमेकी जिल्ला रुकुमपूर्व, सल्यान, रोल्पाबाट पनि पर्यटक आउने गर्छन् । ताल अवलोकनका लागि ‘बोटिङ’ गरेर आन्नद लिने भएकाले पनि स्यार्पु तालमा थप पर्यटकको आकर्षण हुने गरेको छ । तालमा आइसकेपछि तालको चारैतिर घुम्न आधुनिक डुङ्गाको व्यवस्था छ ।

आधुनिक डुङ्गा राखिनु तथा खान र बस्नका लागि घरबास सञ्चालन गरिनुले स्यार्पु घुम्न आउनेको सङ्ख्यामा वृद्धि भएको स्थानीय भूपेन्द्र मल्लले बताए । “मान्छेहरू छुट्टी मनाउनका लागि आउने गरेका छन्, ताल हेर्न आएकाहरू डुङ्गा नचढी फर्किंदैनन्, तालले गर्दा स्थानीयको आयस्रोतसमेत बढेको छ”, मल्लले भने । स्यार्पु तालको छेउमै तालको प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको थियो ।

स्यार्पु ताललाई देशविदेशमा प्रचारप्रसार गरी बाह्य तथा आन्तरिक पर्यटक बढाउने उदेश्यले महोत्सव आयोजना गरिएको लोकदोहोरी गीत प्रतिष्ठान जिल्ला शाखा अध्यक्ष तुल देवकोटाले जानकारी दिए । यही असोज ११ देखि २१ गतेसम्म महोत्सव आयोजना गरिएको थियो ।

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार  १ : ५२ बजे