प्रधानमन्त्रीसँग अमेरिकी सुरक्षा परिषद्की बरिष्ठ निर्देशकको भेटवार्ता



काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग दक्षिण एसियाका लागि अमेरिकी राष्ट्रिय सुरक्षा परिषदकी वरिष्ठ निर्देशक इलिन लाउबाचरले प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता गरेकी छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनका विशेष सहायक समेत रहेकी लाउबाचर प्रधानमन्त्री प्रचण्डलाई भेट्न बिहीबार बिहान बालुवाटारस्थित निवास पुगेकी थिइन् । एमसीसी परियोजनासँगै नेपालमा अमेरिकी उच्चअधिकारीका भ्रमण निरन्तर भइरहेका छन् ।

भेटवार्तामा दुई मुलुकबीचको सम्बन्धलाई थप बलियो बनाउने र द्विपक्षीय सहकार्य थप बढाउने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । श्रोतका अनुसार, एमसीसी कार्यान्वयनमा गएकोमा खुशी व्यक्त गर्दै तोकिएको समयमै परियोजना सम्पन्न हुने विश्वास व्यक्त गरेकी थिइन् ।

बुधबार काठमाडौं आएकी उनले लगत्तै उनले परराष्ट्रमन्त्री एनपी साउद, प्रधानसेनापति प्रभुराम शर्मा र राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागीसँग भेटवार्ता गरेकी थिइन् । उनले भारतस्थित अमेरिकी दूतावासमा सैनिक सहचारीको रुपमा पनि काम गरेकी थिइन् ।

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहिबार  ११ : ०९ बजे