सिके राउतको सूचीमा मधेश सरकारका १० भ्रष्टाचार काण्ड



काठमाडौं– जनमत पार्टीका अध्यक्ष सिके राउतले मधेश स्वाभिमान दिवसका अवसरमा शुभकामना दिैदै साथै मधेशमा जंगलराज र भ्रष्टाचारको अन्त्य तथा सुशासनको शुरूवातको कामनासमेत गरेका छन् ।

उनले जसपा नेतृत्व मधेश सरकार पूर्ण असफल भएको र काण्डैकाण्डमका फसेको समेत बताएका छन् ।
विगत एक वर्षको जसपाको मुख्यमन्त्री रहँदा देखाउन लायक एउटै काम नभएको, उल्टै जनमत पार्टीले शुरू गरेका महत्वपूर्ण कृषि योजनाहरू तथा प्रदेश साक्षरता कार्यक्रमहरूलाई जसपाका मुख्यमन्त्री र अर्थ मन्त्रीले मिलेर चलाउन नदिएको दावी गरेका छन् ।
मधेशमा विद्यमान रहेको जंगलराज र भ्रष्टाचारका कारण संघीयता समेत बदनाम हुँदै गएको समेत डा. राउतले बताएका छन् । ‘मधेशको नाम नै कलंकित हुँदै आएको छ । मधेशका हरेक मन्त्रालयदेखि कार्यालयहरूमा जसपाका कार्यकर्ताहरू भरेर मचाउँदै आएको आतंक, भ्रष्टाचार र जंगलराज शीघ्र अन्त्य हुनुपर्छ’ उनले फेसबुकमा लेखेका छन् ।
राउतले मधेशमा मुख्य १० काण्ड भएको भन्दै त्यसको सूची समेत सार्वजनिक गरेका छन् ।


१. साइकल चोरी काण्ड : १० करोड ३३ लाखको भ्रष्टाचारको मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्धारा विशेष अदालतमा मुद्दा दर्ता ।
२. स्वच्छता काण्ड : मुख्यमन्त्री स्वच्छता अभियानमाको झण्डै १ अर्ब २८ करोड बजेटमा अनियमितता भएको भन्दै अख्तियारद्धारा छानविनको क्रममा ।
३. बेटी ठगी काण्ड : मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ कार्यक्रम अन्तर्गत छोरी शिक्षा बिमाको ६ हजार फाइल गायब गरी विमा रकम खातामा जम्मा नगरेको ।
४. जानकी मन्दिरमा भ्रष्टाचार काण्ड : मधेश प्रदेशको गौरब जानकी मन्दिरको विद्युतीकरण एवं सौन्दर्यीकरणमा करोडौंको भ्रष्टाचार । छानविन हुन बाँकी ।
५. सर्प काण्ड : झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान सर्लाहीको नाममा १७ करोड ९८ लाख ३३ हजार भ्रष्टाचार भएको भन्दै अख्तियारद्धारा विशेष अदालतमा मुद्दा दायर ।
६. शहीद परिवार ठगी काण्ड : मधेश प्रदेश सरकारद्धारा शहीद परिवारलाई वितरण गर्ने भनि ल्याइएको भैंसी वितरणमा शहीद परिवारलाई ठगेको ।
७. ३ अर्ब ३४ करोड रकमान्तर काण्ड : विधी र प्रक्रिया मिचेर अर्थमन्त्रीले रकमान्तर र अनुदानका नाममा आफ्ना नेता कार्यकर्ताहरूलाई वितरण गरेको, विशेष समितिद्वारा छानबिन भइराखेको
८. कृषि अनुदान तथा कोल्ड स्टोर निर्माणमा भ्रष्टाचार काण्ड
९. भरत ताल भ्रष्टाचार काण्ड : सर्लाहीमा ४५ करोड भ्रष्टाचार काण्ड, सार्वजनिक लेखा समितिद्धारा ठहर
१०. मधेश परिवहन काण्ड : मधेस प्रदेश सरकारले कमिशनका लागि मात्र करोडौँ रुपैयाँ खर्च गरेर खरिद गरिएका बसहरू कवाडी बनाइए
राउतले यी काण्डहरु मधेश सरकारले मच्चाएको भन्दै छानविनको माग गरेका छन् । उनले यी काण्डमा कसको संलग्नता रहेको, कति भ्रष्टाचार भएको भन्ने खुलाएका भने छैनन ।

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार  ४ : २६ बजे