त्रिविको उपकुलपति बन्न ४३ प्रतिस्पर्धी, कस कसले हाले दरखास्त



त्रिभुवन विश्वविद्यालयको २०औं उपकुलपति बन्न दुई महिलासहित ४३ जना प्राध्यापकले खुला प्रतिस्पर्धाका लागि आवेदन दिएका छन् ।आवेदन दिने अन्तिम दिन सोमबारसम्म ४३ जनाको आवेदन परेको उपुकलपति सिफारिस समितिका सदस्य तथा शिक्षा सचिव सुरेश अधिकारीले जानकारी दिए ।

प्रधानमन्त्री तथा कुलपति पुष्पकमल दाहालको निर्देशनमा शिक्षामन्त्री तथा सहकुलपति अशोककुमार राई अध्यक्षताको सिफारिस समितिले खुला प्रतिस्पर्धाका आधारमा उपकुलपति नियुक्ति गर्न १५ दिन समय दिएर आवेदन माग गरेको थियो ।

त्रिविका निमित्त उपकुलपति शिवलाल भुसाल, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंह, त्रिविका पूर्वउपकुलपति तीर्थराज खनियाँ, खुला विश्वविद्यालयका पूर्वउपकुलपति लेखनाथ शर्मा, पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति केशरजंग बराल, त्रिविका पूर्वरजिस्ट्रार चन्द्रमणि पौडेल, पूर्वरेक्टर गुणनिधि न्यौपाने, गण्डकी विश्वविद्यालयका उपकुलपति नवराज देवकोटाले आवेदन दिएका छन् ।

त्यस्तै त्रिवि मानविकी संकायकी डिन कुसुम शाक्य, शिक्षा संकायका डिन चित्रबहादुर बुढाथोकी, त्रिवि कार्यकारी परिषद्का सदस्य महानन्द चालिसे, ताहाचल क्याम्पसका प्राध्यापक भीमसेन देवकोटा, त्रिरत्न बज्राचार्य, संगीता रायमाझी, गोविन्द सुवेदी, टंकनाथ धमला, भोजराज अर्याल, प्रकाश घिमिरे, केदारनाथ घिमिरे, पूर्वडिनहरू कृष्णराज तिवारी, इन्द्रबहादुर कार्की, राजकुमार पोखरेल, बालमुकुन्द रेग्मी, एकराज ओझा, देवबहादुर खड्का, अक्कल देव मिश्र, प्रमोदकुमार झालगायतले आवेदन दिएको शिक्षा मन्त्रालयले जनाएको छ ।

प्रतिस्पर्धाका आधारमा त्रिविको उपकुलपति चयन गर्न छनोट र सिफारिस कार्यविधिसहित सिफारिस समितिले दरखास्त आह्वान गरेको थियो । कार्यविधिअनुसार अन्तर्वार्ता र प्रस्तुतीकरणबाहेकका अंकबाट अल्पसूची तयार पारिनेछ । आवेदन दिनेमध्ये एक तिहाइ वा १५ जनामध्ये जुन कम हुन्छ, तिनै उम्मेदवारलाई अल्पसूचीमा राखिनेछ । अल्पसूचीबाट प्रस्तुतीकरणको मूल्यांकन र अन्तर्वार्ता लिएर सर्वोत्कृष्ट अंक प्राप्त गर्ने तीन जनाको नाम सिफारिस गर्ने र तीमध्ये कुलपतिले एक जनालाई नियुक्ति दिने भनिएको छ । कात्तिक १७ देखि त्रिविमा उपकुलपति पद रिक्त छ । १९ औं उपकुलपति धर्मकान्त बाँस्कोटाको ४ वर्षे कार्यकाल पूरा भएपछि शिक्षाध्यक्ष भुसाललाई निमित्तको जिम्मेवारी दिइएको छ । शिक्षाध्यक्ष (रेक्टर) र रजिस्ट्रारको पद पनि रिक्त छ ।

प्रकाशित मिति : ९ माघ २०८०, मंगलबार  ८ : ४२ बजे