गजेन्द्रबाबु र मधेसको वर्तमान राजनीति


रासस

१० माघ २०८०, बुधबार  

76
Shares

श्रीमन नारायण

काठमाडौँ, १० माघ (रासस): मधेस प्रदेशको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी र सरकारको प्रमुख सहयोगीमध्येको एक जनमत पार्टीबीच प्रदेश सरकारको नेतृत्वलाई लिएर गहिरो मनमुटाव रहेको छ । अन्य मधेस केन्द्रित दलहरुबीच पनि हार्दिक सम्बन्ध रहेको देखिँदैन । मधेसका दलहरुमा समन्वय कायम गरी अगाडि बढ्न सक्ने नेतृत्व क्षमता भएका व्यक्तिको अभाव देखिन्छ । सम्भवतः गजेन्द्रनारायण सिंहजस्ता नेता आज जीवित रहेका भए यस्तो परिस्थितिको सृजना हुने थिएन ।

नेपाल सद्भावना पार्टीका संस्थापक अध्यक्ष एवं मधेसी नेता गजेन्द्रनारायण सिंहको निधन भएको २२ वर्ष बितिसकेको छ । उहाँको निधनपश्चात्का दुई दशकमा देशको राष्ट्रिय राजनीतिमा धेरै आरोह–अवरोह तथा घटनाहरु भएका छन् । जननिर्वाचित संविधानसभामार्फत देशको संविधानको निर्माण भएको छ । देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ । देशमा राजनीतिक स्थायित्व कायम भई स्थायी शान्तिको अनुभूति जनताले गरिरहेका छन् । जननिर्वाचित प्रतिनिधिहरु सङ्घीय सरकार तथा प्रादेशिक सरकारको नेतृत्व गरिरहेका छन् । मधेसवादी दलहरु पटक–पटक सरकारमा सहभागी भएका छन् । मधेस प्रदेशमा लगातार दोस्रोपटक सरकारको नेतृत्व गर्ने अवसर पनि यसले प्राप्त गरेको छ तर तराई मधेसका आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा खासै प्रगति भएको छैन ।

गजेन्द्रनारायण जुन मूल्य, मान्यता एवं सिद्धान्तमा आधारित राजनीति गर्नुहुन्थ्यो, अब त्यो निष्ठा र समर्पण पाउन कठिन छ । स्वयं उहाँकै अनुयायीहरु पनि परिवारवाद र जातिवादको राजनीतिलाई महत्व दिएका छन् । धेरैले मधेसको मुद्दालाई मागी खाने भाँडो बनाएका छन् । गजेन्द्रनारायणद्वारा स्थापित नेपाल सदभावना पार्टीको अस्तित्व समाप्त भएका पनि आठ वर्ष बितिसकेको छ । विसं २०४७ मा नेपाल सद्भावना पार्टीको स्थापना गरी उहाँले अघि सारेका कतिपय मागहरुको सम्बोधन भइसकेको छभने कतिपय मागहरुप्रति मधेसी नेताहरु नै गम्भीर छैनन् । उहाँ मधेसवादी नेता हुनुहुन्थ्यो तर देश एवं लोकतन्त्र उहाँका निम्ति सर्वोपरि थियो । इमान्दारी, नैतिकता, सदाचार, अनुशासन एवं दलित प्रेम उहाँको राजनीतिको प्रमुख अस्त्र हुने गर्दथ्यो । जातिवाद, परिवारवाद र भ्रष्टाचारका उहाँ घोर विरोधी हुनुहुन्थ्यो । मधेसी समस्याको समाधानका निम्ति उहाँले शान्तिपूर्ण सङ्घर्षको बाटोलाई रोज्नु भएको थियो ।

नेपालको भूगोलभित्र तथा देशको संविधानअन्तर्गत मधेसी समस्याको समाधान होस् भन्ने उहाँको चाहना थियो । देशमा व्याप्त आर्थिक, सामाजिक एवं राजनीतिक असमानताको अन्त्य भएको हेर्ने उहाँको चाहना थियो । उनले अघि सारेका ‘जय मातृभूमि’को राजनीतिक अभिवादनलाई हृदयश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टीबाहेक अरु सबै मधेसी दलले बिर्सिसकेको अवस्था छ । गजेन्द्रनारायणको नाम अब केही व्यक्तिका निम्ति कमाई खाने भाँडो जस्तै भएको छ । भनिन्छ, कुनै पनि राजनीतिक व्यक्ति आफ्नो विचारबाट जिन्दा रहन्छन् तिनको नाममा खोलिएका अस्पताल तथा विद्यालयबाट होइनन् । महात्मा गाधी, माक्र्स, लेनीन, बिपी कोइराला र मदन भण्डारीहरु आफ्नो विचारका कारण आदर्श पुरुष मानिन्छन् । अस्पताल तथा विद्यालयबाट होइन । गजेन्द्रनारायणको राजनीतिक यात्रा राणाविरोधी आन्दोलनमा सक्रिय सहभागिताबाट सुरु भएको थियो । नेपाली कांगेसमा आबद्ध रहेर उहाँले राजनीतिक यात्राको थालनी गर्नुभएको थियो ।

विसं २०१५ को आमनिर्वाचनमा उहाँ नेपाली कांगेस सप्तरीका जिल्ला अध्यक्ष हुनुहुन्थ्यो । विसं २०१७ को राजनीतिक कूपश्चात् निर्वासनमा उहाँ भारत जानुभयो । प्रजातन्त्रवादी भएकै कारण उहाँलाई पटक–पटक जेलमा राख्ने काम भएको थियो । उहाँ जेलमा छँदा नै उहाँको आमाको निधन भएको थियो । प्रहरीले हातमा हत्कडीसहित नै उहाँलाई आमाको दाहसंस्कारमा सहभागी गराएको थियो । उहाँ हिरासतमै हुँदा एकमात्र छोराको निधन भएको थियो । त्यसपछि बाँचुन्जेलसम्म उहाँ सन्तानविहीन भएर रहनुभयो । विसं २०३२ तिर नेपाली कांग्रसका केही शीर्ष नेताहरुसित मतभेद हुँदा उहाँले भद्रकाली मिश्रसित मिलेर पूर्वाञ्चल कांग्रेसको स्थापना गर्नु भएको थियो । विसं २०३६ मा बहुदलीय संसदीय व्यवस्थाको पक्षमा उहाँ खुलेर लाग्नुभयो तर त्यस निर्वाचनमा निर्दलीय व्यवस्थाको जीत भएको थियो । विसं २०४० मा तत्कालीन पञ्चायती शासकले देशमा बढ्दो जनसङ्ख्याका बारेमा कारण पत्ता लगाउन जनसङ्ख्याविद डा हर्क गुरुङको संयोजकत्वमा एउटा आयोगको गठन गरेको थियो । त्यस आयोगको प्रतिवेदनको विरोधमा गजेन्द्रनारायणले रामजनम तिवारीसित मिलेर राजदरबारमा ज्ञापनपत्र बुझाउनु भएको थियो । तराई–मधेसका जिल्ला सदरमुकामहरुमा यसको विरोध पनि भएको थियो ।

अन्ततः त्यो प्रतिवेदन कार्यान्वयन भएन । त्यतिबेला नै उहाँले नेपाल सद्भावना परिषद्को गठन गर्नुभएको थियो । यसको उद्देश्य तराई–मधेसको भाषा संस्कृतिको विकास गर्नु थियो । विसं २०४३ को आम निर्वाचनमा उहाँ सप्तरीबाट राष्ट्रिय पञ्चायतको सदस्यका रुपमा निर्वाचित हुनुभयो । राष्ट्रिय पञ्चायतका सदस्य भएका नाताले उहाँ राजाको प्रशंसा त गर्नुहुन्थयोे तर आफ्नो प्रत्येक सम्बोधनमा देशमा कायम आर्थिक, सामाजिक एवं राजनीतिक भेदभावको विरोध गर्दै त्यसको अन्त्य हुनुपर्ने माग पनि गर्नुहुन्थ्यो । विसं २०४६ को अन्त्यमा पञ्चायत विरोधी आन्दोलनमा नेपाल सद्भावना परिषद्का नेता एवं कार्यकर्ताहरुको सहभागिता पनि रहेको थियो । जनआन्दोलनको सफलतापश्चात् २०४७ वैशाखको पहिलो सातामा नेपाल सद्भावना पार्टीको स्थापना भएको थियो । उहाँ २०४७ सालमा जनकपुर, २०५० सालमा वीरगञ्ज तथा २०५४ सालमा विराटनगरमा भएको महाधिवेशनबाट पार्टीको अध्यक्ष पदमा निर्विरोध निर्वाचित बन्नुभयो ।

उहाँले नेपाल सद्भावना पार्टीको स्थापना गर्दा अघि सारेका महत्वपूर्ण मागमध्ये नागरिकता समस्याको समाधान भइसकेको छ भने देशमा मधेसी, दलित, खस–आर्य, महिला एवं जनजातिका निम्ति आरक्षण (समानुपातिक समावेशिता) लागू भइसकेको छ । सामाजिक, आर्थिक एवं सामुदायिक एकरुपताका आधारमा उहाँले नेपालमा पूर्वी पहाड, पूर्वी तराई, काठमाडौँ उपत्यका, पश्चिमी पहाड एवं पश्चिमी तराई गरी पाँच प्रदेशको वकालत गर्नुभएको थियो तर त्यो सम्भव भएन । अब आठ जिल्लाको मधेस प्रदेश घोषित गरिएको छ । देश सङ्घीय संरचनामा जानु पनि गजेन्द्रनारायण सिंहको सपना साकार हुनु हो । जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्रको गठनसम्बन्धी उहाँको महत्वपूर्ण मागको पनि सम्बोधन करिब भई नै सकेको छ । नेपाली सेनामा मधेसी युवाको प्रवेशप्रति सरकारले लचिलो नीति अपनाएको छ । गएको तीन दशकमा कतिपय मधेसी युवा सेनामा सहभागी पनि भएका छन् । प्रहरीको तुलनामा सेनामा प्रवेशको बाटो त्यति सहज र सरल हुँदैन किनभने त्यहाँ कठीन शारीरिक अभ्यास एवं प्रशिक्षणहरु गर्नुपर्ने हुन्छ । सायद त्यही भएर होला पढेलेखेका मधेसी युवाहरु अध्यापन, प्रशासन एवं प्राविधिक पदको जागिरमा बढी ध्यान केन्द्रित गर्ने गर्दछन् ।

सङ्घीय लोकतान्त्रिक शासन प्रणालीलाई विश्वमा अहिलेसम्मकै सर्वाधिक उत्तम शासन प्रणाली मानिएको छ किनभने यसमा जननिर्वाचित प्रतिनिधिहरुको नेतृत्वमा सरकारको गठन भएको हुन्छ । जननिर्वाचित प्रतिनिधिहरु देशको संसद्प्रति जिम्मेवार हुन्छन् । उहाँले उठाएका केही प्रमुख मुद्दाहरुमध्ये मधेसी भूमिहीनलाई पनि बसोबासको निम्ति अन्य सुकुम्बासीले पाउने गरेका सुविधा प्रदान गरिनु, हिन्दीलाई नेपालको दोस्रो राष्ट्र«भाषाको दर्जा तथा मातृभाषामा प्राथमिक शिक्षाको प्रावधान जस्ता विषयहरु अहिले त्यति बढी प्राथमिकतामा रहेको देखिँदैन । गजेन्द्रनारायण शान्तिपूर्ण एवं अहिंस्रक राजनीतिको माध्यमबाट समस्याको समाधान चाहनुहुन्थ्यो । उहाँ बाँचुन्जेलसम्म तराई मधेसमा न त कुनै सशस्त्र समूह अस्तित्वमा आएको थियो न त कसैले राष्ट्र« विखण्डनको कुरा नै गरेको थियो । उहाँ बाँचुन्जेलसम्म उहाँको पार्टीले बन्द, हडताल तथा हिंस्रक प्रदर्शन जस्ता विरोधका कार्यक्रमहरु पनि गरेको थिएन । विसं २०५० मा उहाँले आफ्नै नेतृत्वमा विभिन्न माग राखी नौ दिनसम्म राजधानी काठमाडौँमा अनशनमा बस्नुभएको थियो । उहाँ बाँचुन्जेलसम्म माओवादीको सशस्त्र सङ्घर्षलाई आर्थिक, सामाजिक एवंं राजनीतिक असमानताका कारण उत्पन्न समस्या मान्ने गर्नुहुन्थ्यो र शान्तिपूर्ण वार्ताको माध्यमबाट नै यस समस्याको समाधान भएको हेर्न चाहनुहुन्थ्यो । आखिर उहाँकै चाहनाअनुसार यस समस्याको समाधान पनि भएको हो ।

गजेन्द्रनारायण जातिवाद, परिवारवाद एवं भ्रष्टाचारको घोर विरोधी थिए । नेपाल–भारत मित्रताका उहाँ पक्षधर हुनुहुन्थ्यो । देशमा लोकतन्त्र, सङ्घीयता तथा सामाजिक न्यायको स्थापनाका लागि उहाँले गरेका योगदान सदैव अविस्मरणीय रहनेछ । उहाँ बाचुन्जेलसम्म नेपालको राजनीतिमा मधेसवाद शब्दको प्रयोग भएको थिएन । गजेन्द्रनारायणको नाम, उहाँद्वारा स्थापित पार्टी तथा उहाँको योगदानलाई स्मरण गर्न कसैले कन्जुस्याइँ गर्नु हुँदैन । देश एवं समाजको हितलाई सर्वोपरि ठान्नेहरुको योगदान कसैले चाहेर पनि मेटाउन सक्दैन । आज पनि उहाँलाई निष्ठावान्, परिपक्व र दूरदर्शी नेताको रुपमा सबैले सम्झने गरिन्छ । (लेखक पत्रकार हुनुहुन्छ)

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  ७ : ३७ बजे