काठमाडौं । बंगलादेशमा ३५ वर्षपछि आज राष्ट्रपतिको निर्वाचन हुँदैछ । आज दिउँसो संसदमा राष्ट्रपतीय निर्वाचनका लागि मतदान हुनेछ ।
संसद् सदस्यहरूले राष्ट्रपति चयन गर्नेछन् । निर्वाचनमा मतदान गर्न कुल ३४९ जना सांसद छन् ।
राष्ट्रपति पदको प्रतिस्पर्धामा सत्तारुढ बीएनपीका उम्मेदवार मिर्जा फखरुल इस्लाम आलमगीर र प्रमुख विपक्षी दल जमात–ए–इस्लामीको नेतृत्वमा रहेको ११ दलीय गठबन्धनका उम्मेदवार ओली अहमद आमनेसामने हुनेछन् ।
फेब्रुअरीमा सम्पन्न आम निर्वाचनमा बीएनपीले संसदमा दुई तिहाइ बहुमत हासिल गरेको थियो । जसकारण फखरुलको जित करिब निश्चित मानिएको छ ।
पूर्वप्रधानमन्त्री शेख हसिनाका निकट सहयोगी मानिएका मोहम्मद सहाबुद्दिनले आफ्नो पाँच वर्षे कार्यकाल पूरा गर्नुअघि नै स्वास्थ्यका कारण गत महिना राजीनामा दिएकाले राष्ट्रपति निर्वाचन हुन लागेको हो ।
यसैबीच, बंगलादेशका प्रमुख निर्वाचन आयुक्त एएमएम नासिर उद्दिनले निर्वाचनमा पारदर्शिता सुनिश्चित गर्न मतगणना प्रत्यक्ष प्रसारण गरिने बताएका छन् ।





प्रतिक्रिया