काठमाडौँ, माघ १२ । काठमाडौँ महानगरपालिकाले विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार र राजधानीको व्यापारिक केन्द्रका रूपमा रहेको नयाँ सडक (न्युरोड) क्षेत्रलाई सवारी निषेधित क्षेत्र बनाउने योजना बनाएको छ।
महानगरपालिकाले नयाँ सडक क्षेत्रलाई सवारी निषेधित क्षेत्र बनाउन विभिन्न चरणमा योजना तयार गरेको जनाएको छ।
काठमाडौँ महानगरपालिकाका पूर्वाधार विकास सल्लाहकार सुनील लम्सालले आमनागरिकको सहज आवागमन, सहरी सौन्दर्यकरण तथा ट्राफिक व्यवस्थापन गर्ने उद्देश्यसहित नयाँ सडक क्षेत्रलाई सवारी निषेधित क्षेत्र बनाउने योजना तयार गरिएको जानकारी दिए। उनका अनुसार सवारी निषेधित क्षेत्र बनाउने योजना अन्तर्गत नै पहिलो चरणमा नयाँ सडकको पार्किङ हटाइएको छ। दोस्रो चरणमा यात्रु चढाउने र ओराल्ने (पिक एन्ड ड्रप) प्रणाली लागु गरिने छ र त्यसको लागि आवश्यक तयारी भइरहेको छ।
नयाँ सडक क्षेत्रमा पार्किङका लागि ह्विल्स ट्रुली योर्स कम्पनीसँग २०७६ सालमा भएको सम्झौताको म्याद माघ ९ गते सकिएको थियो। उक्त कम्पनीसँग भएको सम्झौता नवीकरण नगरी म्याद सकिएकै दिनदेखि नयाँ सडक क्षेत्रको सडकमा पार्किङ निषेध गरिएको पूर्वाधार विकास सल्लाहकार लम्सालको भनाइ छ। आजको गोरखापत्र दैनिकमा समाचार छ।
प्रतिक्रिया