आहा ! रारा गोल्डकप : उपाधिका लागि आर्मी र थ्री स्टारको दाबेदारी



पोखरा । विभागीय टोली त्रिभुवन आर्मी क्लब र थ्री स्टार क्लबले आहा ! रारा पोखरा गोल्डकपको उपाधिका लागि आ आफ्नो दाबेदारी प्रस्तुत गरेका छन्। खेलअघि शुक्रबार आयोजना भएको पत्रकार सम्मेलनमा दुवै टोलीले उपाधिमाथि दाबेदारी प्रस्तुत गरेका हुन्। पोखरा रंगशालामा खेल शनिबार दिउँसो १ बजे शुरू हुँदै छ।

आर्मीका प्रशिक्षक मेघराज केसीले यस पटक इतिहास दोहोर्‍याउन नभएर बनाउन आएको बताए। आर्मी सन्तुलित टोली भएको कारण इतिहास बनाउनेमा उनी आशावादी देखिए। “हामीले प्रतियोगिताका लागि राम्रो तयारी गरेका छौँ। आर्मी सन्तुलित टोली लिएर पोखरा आएको छ। हामी इतिहास दोहोर्‍याउन चाहँदैनौ। पहिलो पटक च्याम्पियन बन्ने लक्ष्यका साथ मैदान उत्रिने छौँ,” प्रशिक्षक केसीले।

यसपटक प्राय: सबै टोलीले युवा खेलाडीलाई मौका दिइरहेका छन्। उनीहरूले राम्रो प्रदर्शन गरिरहेको केसी बताउँछन्। आर्मीले पनि नयाँ खेलाडीका साथ पोखरा उत्रिएको उनले जानकारी दिए। प्रशिक्षकको रूपमा दुई पटक उपाधि जितिसकेका कारण आफ्नो लक्ष्य भनेको तेस्रो पटक च्याम्पियन बन्ने रहेको उनले सुनाए।

जारी प्रतियोगितामा आर्मीले राइजिङ स्टार एफसीलाई १–०, साविक विजेता संकटालाई ३–० र चर्च ब्वाइज युनाइटेडलाई २–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो। आर्मीका लागि दिनेश हेन्जनले सर्वाधिक तीन गोल गरेका छन्।

यसैगरी आर्मीका कप्तान भरत खवास पनि विगतका गल्तीहरूलाई सुधार्दै उपाधि उचाल्ने लक्ष्य रहेको सुनाए। “सबै टोली उपाधि जित्ने लक्ष्य हुन्छ। यसअघि पटक पटक फाइनल पुगेर पनि उपाधिबाट वञ्चित भएका थियौँ। विगतमा केही मिहिनेत नपुगेको जस्तो लाग्छ। तर यसपटक फाइनलमा आफ्नो तर्फबाट सकेको दिने प्रयास हुनेछ,” उनले भने।

आयोजक सहारा क्लबलाई २–१, भुटानको पारो एफसीलाई २–० र जावलाखेल यूथ क्लबलाई १–० गोल अन्तरले हराउँदै फाइनल यात्रा तय गरेको थ्री स्टार पनि उपाधि जित्ने लक्ष्यमै मैदान उत्रिएको छ। उसका स्टार फरवार्ड आशिष चापागाईँले सर्वाधिक दुई गोल गरेका छन्। उनले चर्च ब्वाइज युनाइटेडबाट ‘ए’ डिभिजन लिग खेलेका थिए। आशिषजस्तै अन्य क्लबका खेलाडी बटुलेर थ्री स्टारले टोली बनाएकोले त्यसको फाइदा लिने भरत बताउँछन्।

“टोलीमा तालमेल मिलिरहेको छ। हामी फेरि उपविजेता मै सीमित हुन चहदैनौ। अरू क्लबले खेलाडी बटुलेर टोली तयार पारेका छन्। तर हामीसँग सेट टोली छ। त्यसको फाइदा उठाउँदै जसरी पनि उपाधि जित्ने छौँ,” उनले भने।

थ्री स्टारका डेब्यू प्रशिक्षक विक्रम लामाले आफ्नो गुरुविरुद्ध फाइनल खेल्न पाउनु सुनौलो अवसर रहेको सुनाए। ‘ए’ डिभिजन लिगमा उनी थ्री स्टारको कप्तान रहँदा केसी ‘टचलाइन’मा उभिएका थिए। केसीले सिकाएको कुरालाई नै फाइनल खेलमा लागु गर्ने लामाले बताए।

“हिजो उहाँको निर्देशनमा मैदान भित्र खेल्ने गर्थे। अहिले मैदान बाहिर खेल्ने अवसर मिलेको छ। म उहाँले सिकाएका कुरालाई फाइनल खेलमा लागु गर्ने प्रयास गर्नेछु। यो प्रतियोगिता मेरो प्रशिक्षण करिअरमा अभ्यासको रूपमा रहेको छ,” उनले भने।

थ्री स्टारको टोलीमा युवा खेलाडी रहेको कारण एक अर्कासँग सँगै खेलेको अनुभव नभएकाले पहिलो खेलमा केही गाह्रो भएको उनले बताए। तर अहिले टोलीको तालमेल मिलिरहेको उनले सुनाए। तर केही कमी कमजोरीहरू रहेको र त्यसलाई सुधार गर्दै फाइनलमा उत्कृष्ट खेल प्रदर्शन गर्ने प्रयास रहने उनले बताए।

थ्री स्टारले हालसम्म ६ पटक फाइनलमा पुगेको छ। जसमा ५ पटक च्याम्पियन बनेको छ। यसै गरी आर्मीले यसअघिका चार वटै फाइनलमा पराजय बेहोरेको छ। आर्मी नियमित प्रशिक्षण गरिरहेको राम्रो टोली रहेको थ्री स्टारका कप्तान विराट महर्जनले बताए। तर, थ्री स्टार पनि कमजोर टोली नरहेको उनी बताउँछन्। त्यसैले फाइनल खेल रोमाञ्चक हुनेमा उनी आशावादी देखिए।

“टोलीमा सबै खेलाडी सकारात्मक सोच राख्ने खेलाडी छन्। सबैमा केही गर्नुपर्छ भन्ने जोस छ। आर्मी राम्रो टोली हो। उनीहरूले नियमित प्रशिक्षण गरिहरेका छन्। तर हामी पनि कमजोर छैनौँ। फाइनल निकै रोमाञ्चक हुने अपेक्षा छ। हामी उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्ने छौँ,” उनले भने।

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार  ९ : ३२ बजे