गाजामा युद्ध अपराधको प्रमाण बढ्दै गएको देखिन्छ



दुई वर्ष अघि, हमासले इजरायलमाथि आक्रमण गर्ने योजना अन्तिम चरणमा पुर्‍याउँदै थियो । त्यतिबेला इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले फिलिस्तीनीहरूलाई व्यवस्थापन गर्नुपर्ने समस्याको रूपमा हेर्थे । उनले वास्तविक खतराको रुपमा इरानलाई लिन्थे ।

उनले हमास विरोधी अभिव्यक्तिहरू दिइरहेका हुन्थे तर पनि कतारलाई गाजामा आर्थिक सहायता पठाउन स्वीकृति दिएका थिए । यसले उनलाई आफ्नो परराष्ट्र नीति, विशेष गरी इरानसँगको टकराव र साउदी अरेबियासँग सम्बन्ध सामान्य बनाउन समय दिएको थियो ।
इजरायल र साउदी सहमति नजिक छन् भन्ने भ्रममा अमेरिकाका तत्कालिन राष्ट्रपति जो बाइडेन र उनको प्रशासन थियो ।
तर यी सबै भ्रम साबित भए ।

७ अक्टोबर २०२३ को हमास आक्रमणपछि नेतन्याहूले आफ्नो सरकार र सुरक्षाप्रमुखहरूले गरेका गल्तीको छानबिन गर्न अस्वीकार गरे । यो घटनाले यहुदी र अरबबीच जोर्डन नदी र भूमध्यसागरबीको जमिनलाई लिएर यहूदी र अरबबीचको एक शताब्दी लामो द्वन्द्व पुनः व्यूँतायो । जुन सन् १९४८ र १९६७मा भएका ठूला युद्धकै रुपमै आउनसक्ने खतरा छ ।

७ अक्टोबरपछि मध्यपूर्व पूरै परिवर्तन भएको छ । लगभग दुई वर्ष पुग्न लाग्दा गाजाको युद्ध फेरि एक निर्णायक मोडमा पुगेको छ ।

पत्रकारिता संकटमा, युद्ध अपराधका प्रमाण स्पष्ट

७ अक्टोबरको आक्रमण पत्रकारहरूका लागि चकित पार्ने घटना थियो । त्यसपछि इजरायलले गाजामा अन्तर्राष्ट्रिय पत्रकारहरूलाई स्वतन्त्र रूपमा रिपोर्टिङ गर्न प्रतिबन्ध लगायो । गाजाभित्रका फिलिस्तीनी पत्रकारहरूले साहसी काम गरे पनि लगभग २०० जना मारिएका छन् ।

तर तथ्यहरू प्रस्ट छन् । हमासले ७ अक्टोबरमा १,२०० जनाको हत्या गरेर युद्ध अपराध गरेको छ । जसमध्ये अधिकांश इजरायली नागरिक छन् । २५१ जनालाई बन्धक बनाइयो, जसमध्ये करिब २० जना अझै उनीहरुकै नियन्त्रणमा छन् र जीवितै रहेको विश्वास गरिन्छ ।

इजरायलमाथि पनि युद्ध अपराधको गम्भीर आरोप छ । गाजाका नागरिकलाई भोकमरीको स्थितिमा पुर्‍याउनु, सैन्य कारबाहीमा निर्दोषलाई सुरक्षा नदिनु, पूरा शहरमा अत्यधिक क्षति पुर्‍याउने ढंगले ध्वस्त पार्नु— यी सबै युद्ध अपराधका स्पष्ट प्रमाण हुन् ।
नेतन्याहू र उनका पूर्वरक्षामन्त्रीमाथि अन्तर्राष्ट्रिय अपराध अदालतले युद्ध अपराधको आरोपमा पक्राउ पूर्जी जारी गरिसकेको छ ।

इजरायलले अन्तर्राष्ट्रिय अदालतमा लगाइएको नरसंहारको मुद्दालाई अस्वीकार गर्दै यसलाई यहूदी विरोधी “रक्त निन्दा“ भनेको छ ।

इजरायलको विश्वसनीयता संकट

इजरायलका प्रमुख सहयोगीहरू समेत अब असन्तुष्ट देखिन्छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत नेतन्याहूप्रति धैर्य गुमाउँदै गएका छन्, खासगरी उनले दमास्कसमा आक्रमण गर्दा ।

२१ जुलाईमा बेलायत, यूरोपियन युनियनका धेरै सदस्य राष्ट्रहरू, क्यानडा, अष्ट्रेलिया, न्यूजील्याण्ड र जापानका परराष्ट्रमन्क्रीहरूले संयुत्त रूफमा इजरायलको आलोचना गर्दै एक वक्तव्य जारी गरे । वत्तव्यमा भनिएको थियो, “गाजामा नागरिकहरूको पीडा चरम सीमामा पुगेको छ । इजरायली सरकारको सहायता वितरण मोडेल खतरनाक, अस्थिरता बढाउने र मानवताहिन हो । यसरी ८०० भन्दा बढी फिलिस्तीनीहरूले सहयोग खोज्दा मारिनु भयावह हो ।”

बेलायतका विदेश सचिव डेविड लेम्मीले पनि संसदमा यो विषयमा आपत्ति जनाए । तर लेबर सांसदहरूले अझ कडा कारबाहीको माग गरिरहेका छन् ।

राजनीतिक दबाब र नेतन्याहूको अस्थिरता

इजरायली संसद नेसेटमा चाँडै बर्खे अधिवेशन सकिदैछ । जसले नेतन्याहूलाई अस्थायी राहत दिनेछ । उनको सरकारभित्रका अतिवादीहरूले युद्धविरामको विरोध गर्दै समर्थन फिर्ता लिने धम्की दिइरहेका छन् । यदि नेतन्याहूले सत्ता गुमाए, उनले ७ अक्टोबरको गल्ती र भ्रष्टाचार मुद्दामा सजाय भोग्नुपर्नेछ । युद्धविरामको सम्भावना बढ्दै गएको देखिन्छ— जसले गाजाका बाँचिरहेका नागरिक र इजरायली बन्धकहरूका लागि आशा दिनेछ । तर यसले युद्धको अन्त्य होइन, सम्भवतः कूटनीतिक पहलको नयाँ अवसर सिर्जना गर्न सक्छ ।

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार  १२ : ५४ बजे