म्यानमारको युद्धग्रस्त रखाइन राज्यमा भोकमरीको खतरा रहेको दातृ निकायहरुले चेतावनी दिएका छन् । विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले आउन लागेको महाविपत्ति टार्न तत्काल थप सहयोगको अपिल गरेको छ ।
डब्लुएफपीले राज्यमा विस्थापितहरूको संख्या तीव्र रूपमा बढ्दै जाँदा तिनीहरूलाई खाद्य आपूर्ति गर्ने प्रयास गरिरहेको छ । यसमा २०१२ मा भएको साम्प्रदायिक हिंसापछि घरबार गुमाएका १ लाख ४० हजार रोहिंग्या मुस्लिम पनि समावेश छन् । २०२१ को सैन्य कू पछि भड्किएको गृहयुद्धले म्यानमारको अर्थतन्त्र ध्वस्त बनाएको छ भने व्यापक मानवीय संकट श्रृजना गरेको छ । तर सैन्य नाकाबन्दीका कारण बाँकी देशसँग पूर्ण रूपमा विच्छेद भएको रखाइनको अवस्था अन्य क्षेत्रमा भन्दा अझै गम्भीर छ ।
गत अप्रिलमा ओन टाउ क्यी शिविरमा बस्ने ५० वर्षीय एक पुरुषले आफ्नो परिवारसँगै खानेकुरामा विशाक्त पदार्थ हालेर आत्महत्या प्रयास गरे । उनको तत्कालै मृत्यु भयो भने पत्नी र दुई छोराछोरीको भने छिमेकीले तत्काल उद्धार गरेका कारण ज्यान जोगियो ।
भोकमरीको चरम अवस्थाले यस वर्ष जुनमा सित्वेमा एक रखाइन परिवारका पाँच जनाको पनि यस्तै गरी ज्यान गएको बताइन्छ । गत हप्ता सैनिक र अराकान आर्मीबीचको लडाइँबाट विस्थापित एक वृद्ध दम्पतीले आर्थिक संकट र भोकका कारण आत्महत्या गरेको रिपोर्ट छ ।
डब्लुएफपीले यस वर्ष २०२४ को तुलनामा आफ्नो विश्वव्यापी कोषमा ६०% गिरावट आएको बताउँदै, म्यानमारमा गम्भीर खाद्य असुरक्षामा रहेका मध्ये केवल २०% जनतालाई मात्र सहायता पुर्याउन सकिने जनाएको छ ।



प्रतिक्रिया