कुवेतमा विषाक्त मदिरा सेवनबाट १२ नेपालीको मृत्यु भएको छ । कुवेतस्थित नेपाली दूतावासले १२ जना नेपालीको मृत्यु भएको पुष्टि गरेको छ । मदिरा सेवनबाट बिरामी परेका करिब ३० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
‘मेथानोल’ नामक घातक रसायन मिसिएको अवैध मदिरा सेवनका कारण गत साता १ सय ६० जनाभन्दा बढी बिरामी परेका थिए । कुवेती स्वास्थ्य मन्त्रालयका अनुसार, यस घटनामा हालसम्म विभिन्न देशका २३ जना आप्रवासी कामदारको मृत्यु भइसकेको छ ।
सो घटनापछि कुवेतको आन्तरिक मन्त्रालयले अभियान नै चलाएर मेथानोल उत्पादन तथा बिक्रीमा संलग्नलाई पक्राउ गरेको छ ।
कुवेतको गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार, अवैध मदिरा उत्पादन र बिक्रीमा संलग्न ६७ जनालाई पक्राउ गरिएको छ, जसमा नेपाली नागरिक पनि सामेल छन् ।
अनुसन्धानका क्रममा सुरक्षा निकायले साल्मिया क्षेत्रबाट एक नेपालीलाई मेथानोलसहित पक्राउ गरेको छ । ती नेपालीको बयानका आधारमा अन्य नेपालीलाई समेत पक्राउ गरिएको थियो ।
यसका साथै भारतीय तथा एक जना बंगलादेशी नागरिकलाई समेत पक्राउ गरिएको छ । पक्राउ परेका मुख्य अभियुक्तहरूमाथि हत्याको अभियोग लाग्न सक्ने कुवेती सञ्चारमाध्यमले जनाएका छन् ।
अभियानका क्रममा सुरक्षा निकायले आवासीय र औद्योगिक क्षेत्रमा सञ्चालित ६ वटा अवैध मदिरा कारखाना पनि नियन्त्रणमा लिएको छ ।
उक्त घटनापछि सुरक्षा निकायले देशभर नै अवैध बसोबासका मुद्दाहरूमा संलग्न र अवैध मदिरा बनाउने कम्पनीहरूमाथि छापा मारेको हो । आवासीय र श्रम कानुन उल्लङ्घन गरेको आरोपमा २५८ व्यक्तिहरूलाई पक्राउ गरिएको थियो ।
म्याद सकिएको आवासीय अनुमतिपत्र, भिसा ओभरस्टे, फरार मुद्दा र अन्य कानुनी उल्लङ्घका मुद्दा समावेश छन् ।
यो अभियान प्रथम उपप्रधानमन्त्री र आन्तरिक मन्त्री शेख फहाद अल–युसेफ अल–सबाहको निर्देशनमा र नागरिकता तथा आवासीय क्षेत्रका प्रमुख ब्रिगेडियर जनरल फवाज अल–रौमीको निरीक्षणमा सञ्चालन गरिएको कुवेत टाइम्सले उल्लेख गरेको छ ।
यसैबीच, कुवेती अधिकारीहरूले विषाक्त मदिरा सेवनपछि अस्पतालमा भर्ना भएका सबै आप्रवासीलाई उपचारपछि देश निकाला गर्ने भएको छ ।
कुवेती सुरक्षा अधिकारीहरूलाई उदृत गर्दै कुवेती सञ्चारमाध्यमहरू मदिरा सेवनपछि अस्पतालमा उपचार गरिरहेकाहरूलाई डिस्चार्ज भएपछि पक्राउ गरिनेछ । आवश्यक अनुसन्धानपछि उनीहरूलाई पुनः कुवेत प्रवेशमा प्रतिबन्ध लगाइने जनाइएको छ ।
कुवेतमा मदिराको उत्पादन, सेवन तथा बेचबिखनमा प्रतिबन्ध छ । मदिरा सेवन प्रमाणित भएमा देश निकाला हुने व्यवस्था रहेको छ ।
कुवेतमा हाल १ लाख ६० हजार नेपाली कार्यरत छन् । यो घटनाले नेपाली समुदायको प्रतिष्ठामा आँच पुगेको छ ।



प्रतिक्रिया