वीरगञ्ज महानगरपालिकामा फैलिएको हैजा संक्रमण अझै नियन्त्रणमा आएको छैन । वीरगन्ज महानगर क्षेत्रमा हैजा संक्रमितको संख्या १ सय १५ पुगेको छ ।
कूल संक्रमितमध्ये ३९ डिस्चार्ज भइसकेका छन् । ७६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिका प्रवक्ता सुमनचन्द्र ठाकुरका अनुसार, हालसम्म भएको हैजाको पुष्टि आरडीटी परीक्षणबाट पुष्टि भएको हो । संक्रमित पुष्टि भएकाहरू वीरगन्ज महानगरपालिका वडा नं. ३, ११, १२, १३ र १६ का हुन् ।
हालसम्म वीरगन्ज महानगरमा झाडापखाला र हैजाका ४ सय ९३ बिरामी अस्पतालमा भर्ना भएकोमा २ सय २७ डिस्चार्ज भएका छन् भने संक्रमितसहित २ सय ६६ उपचाररत छन् ।
नारायणी अस्पतालमा ४३ र तराई अस्पतालमा ३८ जना हैजा संक्रमित पुष्टि भएका छन् । नेसनल मेडिकल कलेजमा १५, भवानी, वीरगन्ज हेल्थ केयर र मंगलम प्याथोलोजीमा ३÷३ जना संक्रमित पुष्टि भएका छन् । अली अर्थो र एडभान्स मेडिकेयर अस्पतालमा २÷२ जनामा हैजा संक्रमण पुष्टि भएको छ । नारायणी सेन्टर, नेपाल इन्डो, नीलकण्ठ, नेपाल मेडिसिटी बयोधा, सर्वोत्तम र गण्डक अस्पतालमा पनि १÷१ जना संक्रमित पुष्टि भएका छन् ।
प्रादेशिक प्रयोगशाला जनकपुरमा १५ जना हैजा संक्रमितमध्ये १२ जनाको कल्चर परीक्षण गर्दा हैजा फैलाउने भिब्रियो कोलेरा नामक जीवाणु नै पहिचान भएको नारायणी अस्पताल वीरगन्जका सूचना अधिकारी डा. उदयनारायण सिंहले बताउनुभयो ।
दुषित खानेपानीकै कारण हैजा संक्रमण फैलिएको आशंका गरिएको छ । महामनगरले स्वच्छ खानपान तथा खानेपानीमा ध्यान दिन आग्रह गरेको छ ।



प्रतिक्रिया