१५ सेप्टेम्बर २००८ को बिहान करिब ६ बजे, बोबी सीगल क्यानरी वार्फस्थित आफ्नो कार्यालय पुगेका थिए । त्यो दिन उनको जीवनको अन्तिम ‘समयमै कार्यालय पुग्नुपर्ने’ दिन साबित भयो । उनी अमेरिकी लगानी बैंक लेहमन ब्रदर्सका एक ट्रेडर थिए, जुन त्यसबेला गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको थियो ।
सीगल भन्छन्, “आइतबार अमेरिकाबाट आएको समाचारमा बैंकले टाट पल्टिएको घोषणा गर्दैछ भन्ने सुनेका थियौं । तर यसको बेलायतमा हामीमाथि के असर पर्छ भन्ने स्पष्ट थिएन । त्यसैले हामीलाई सामान्यझैं कार्यालय आउन भनिएको थियो ।”
कार्यालय पुगेपछि अवस्था ‘अव्यवस्थित’ बनेको उनले सम्झिए । “अमेरिकास्थित सहकर्मीहरूसँग कुनै प्रत्यक्ष सम्पर्क थिएन । फोन उठाइरहेका थिएनन् । कतिपयले त अफिसका सामान, जस्तै भित्ताका चित्रहरू उठाउँदै ‘यो त मेरो हो, मलाई सेयर दिनुपर्छ’ भन्दै थिए,” उनले भने ।
संभावित संकटको संकेत उनले पहिल्यै पाएका थिए । “मैले अन्तिम दिन किनमेल गर्ने ट्रली किनेको थिएँ । त्यो गर्मीमा नै केही असहजता महसुस भइरहेको थियो । मैले आफ्नो भेन्डिङ मेसिन कार्डमा रहेको ३०० पाउण्ड बराबरको रकम चकलेट किनेर खर्च गरें, किनकि बैंक वा मेसिन बन्द भएमा त्यो कार्ड बेकार हुने थियो,” उनले सुनाए ।
सीगल जस्तै हजारौं कर्मचारीहरूले आफ्नो करियर कार्डबोर्डको बाकसमा बोकेर बाहिरिनुपरेको थियो । यो दृश्य विश्वव्यापी आर्थिक संकटको प्रतीक बन्यो, जसले हजारौं व्यवसाय बन्द गरायो र लाखौं मानिसलाई बेरोजगार बनायो । दोस्रो विश्वयुद्धपछि देखिएको सबैभन्दा गम्भीर र लामो मन्दीको सुरुआत यही घटनाबाट भएको थियो ।
सन् २००८ मा लेहमन ब्रदर्सले अमेरिकामा औपचारिक रूपमा टाट पल्टिएको घोषणा गरेको थियो ।
के फेरि त्यस्तै संकटको संकेत ?
हाल विश्व अर्थतन्त्रमा विभिन्न चेतावनी संकेतहरू देखिन थालेका छन्, जसले पुनः अर्को आर्थिक संकटको सम्भावना बढाइरहेको संकेत गर्छ ।
विशेषज्ञहरूका अनुसार आगामी संकट कस्तो स्वरूपको हुन सक्छ भन्ने प्रश्न उठिरहेको छ । सन् २०२६ मा अन्तर्राष्ट्रिय सम्बन्धहरू २००८ को तुलनामा अझ तनावपूर्ण अवस्थामा रहेका कारण नीति निर्मातासँग समाधानका पर्याप्त उपकरण हुने वा नहुनेबारे पनि शंका व्यक्त गरिएको छ ।
सुरुवाती चेतावनी संकेतहरू
सन् २००८ को संकटअघि नै केही प्रारम्भिक संकेतहरू देखिएका थिए । सन् २००७ मा अमेरिकामा जोखिमयुक्त मोर्टगेजमा गरिएको लगानी असफल हुन थालेपछि घरधनीहरूले ऋण तिर्न नसक्ने अवस्था आयो ।
यसका कारण विभिन्न बैंकहरूले सञ्चालन गरेका कोषहरूमा समस्या देखियो । केहीले लगानीकर्तालाई पैसा झिक्न रोक लगाए भने केही कोषहरू पूर्ण रूपमा बन्द गर्नुपर्यो ।
यी घटनाहरू गहिरो आर्थिक संकटका प्रारम्भिक संकेत थिए । लगानीकर्तामा डर फैलिँदै जाँदा बैंकहरूबीच पनि आपसी ऋण प्रवाह रोकियो, किनकि फिर्ता नआऊने जोखिम बढेको थियो । यसले ‘क्रेडिट त्रन्च’ सिर्जना गर्यो, जसले अन्ततः विश्वव्यापी आर्थिक संकट निम्त्यायो ।
सन् २००८ सेप्टेम्बर १५ मा लेहमन ब्रदर्सको पतनसँगै सुरु भएको विश्वव्यापी आर्थिक संकटको झल्को फेरि देखिन थालेको भन्दै विज्ञहरूले चिन्ता व्यक्त गर्न थालेका छन् । पछिल्ला घटनाक्रमहरूले विश्व अर्थतन्त्रमा नयाँ जोखिमहरू थपिदै गएको संकेत गरेका छन् ।
हालै, ऋण प्रवाह गर्ने विभिन्न कोषहरूले घाटा घोषणा गरेका छन् , केहीले लगानीकर्तालाई आफ्नो रकम फिर्ता लिन प्रतिबन्ध लगाएका छन् । ब्ल्याकर्क, ब्ल्याकस्टोन, अपोलो र ब्लू आउल जस्ता संस्थाहरूले निजी ऋण (प्राइभेट क्रेडिट) कोषबाट अर्बौं डलर बराबरको रकम फिर्ता मागको सामना गरिरहेका छन् ।
नयाँ जोखिमः निजी ऋण बजार
बैंक अफ इङ्ग्ल्यान्डकी उप–गभर्नर सारा ब्रिडेनका अनुसार, निजी ऋणको क्षेत्र तीव्र रूपमा विस्तार भएको छ तर यसले आर्थिक संकटको वास्तविक परीक्षण अझै सामना गरेको छैन । उनले भनिन्, “हामीले अहिले देखिरहेका अवस्थाहरूमा सन् २००८ को आर्थिक संकटका झिल्काहरू देखिन्छन् ।
छिल्लो १५–२० वर्षमा निजी ऋणको बजार शून्यबाट बढेर करिब २.५ ट्रिलियन डलर पुगेको छ । यसमा ऋणमाथि ऋण (लेभरेज), अस्पष्टता, जटिलता र वित्तीय प्रणालीसँग गहिरो सम्बन्ध देखिन्छ ।”
ब्रिडेनले थपिन् कि धेरै निजी ऋण कोषहरूले आफैंले पनि ऋण लिएर लगानी गरेका छन्, जसले ‘लेयर माथि लेयर’ जस्तो ऋण संरचना बनाएको छ र यसले घाटा बढाउने जोखिम उच्च बनाउँछ ।
जोखिम कम आँकलन गरिएको चेतावनी
आर्थिक विश्लेषक मोहम्मद एल–एरियनले पनि अर्को संकटको जोखिम कम आँकलन गरिएको बताएका छन् । उनका अनुसार, “सन् २००७ जस्तै वित्तीय प्रणालीमा कमजोरीहरू छन्, जुन पर्याप्त रूपमा बुझिएका छैनन् ।”
उनका अनुसार, २००८ पछि बैंकहरूमा कडा नियमन लागू भएपछि निजी ऋण बजारको विकास भएको हो । “बैंकहरू सतर्क बन्न बाध्य भए, त्यसपछि बैंकजस्तै काम गर्ने निजी कोषहरू बढ्न थाले,” उनले भने ।
उनले सम्भावित खतरनाक अवस्था औंल्याउँदै भने, “यदि एकैचोटि सबै लगानीकर्ताले आफ्नो पैसा फिर्ता माग्न थाले भने, राम्रो देखिएको प्रणालीले नै अस्थिरता निम्त्याउन सक्छ ।”
तर ब्ल्याकर्कका प्रमुख ल्यारी फिङ्कले भने यस्तो जोखिमलाई अस्वीकार गरेका छन् । उनका अनुसार अहिलेको वित्तीय प्रणाली २००८ भन्दा धेरै सुरक्षित छ र “त्यस्तो संकट दोहोरिने सम्भावना छैन ।”
तर केही विश्लेषकहरूले अहिलेको अवस्थालाई ‘बैंक रन’ को नयाँ रूपसँग तुलना गरेका छन्, जहाँ शाखाबाहिर लामो लाइन नदेखिए पनि लगानीकर्ताहरू पैसा फिर्ता लिन आतुर छन् ।
ऊर्जा संकटको दबाब
ऊर्जा मूल्य वृद्धि पनि अर्को ठूलो जोखिमका रूपमा देखिएको छ । सन् २००८ को संकटअघि जस्तै, अहिले पनि तेलको मूल्य १०० डलर प्रति ब्यारेलभन्दा माथि पुगेको छ ।
विशेषगरी इरानसँगको तनावका कारण होर्मुज स्ट्रेट अवरुद्ध हुँदा विश्व ऊर्जा आपूर्तिमा गम्भीर असर परेको छ । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका प्रमुख फातिह बिरोलले यस अवस्थालाई “इतिहासकै सबैभन्दा ठूलो ऊर्जा सुरक्षा संकट” भनेका छन् ।
यद्यपि, हालको मूल्य अझै २००८ मा पुगेको १४७ डलर (आजको मूल्य अनुसार करिब १९० डलर) भन्दा कम छ, र शेयर बजारहरू अझै उच्च स्तरमै रहेका छन् ।
एआई लगानी र सम्भावित बबल
अर्को चिन्ताको एआईमा भइरहेको ठूलो लगानी हो । यस क्षेत्रमा २ ट्रिलियन डलरभन्दा बढी लगानी भइसकेको छ, जसलाई कतिपयले ‘बबल’ को रूपमा लिएका छन् ।
अमेरिकी शेयर बजारको मुख्य सूचक एस एण्ड पी ५०० को करिब ३७ प्रतिशत मूल्य केही सीमित ठूला कम्पनीहरूमा केन्द्रित छ । यसले गर्दा ती कम्पनीहरूमा ठूलो गिरावट आएमा विश्वव्यापी लगानीकर्ताहरू, पेन्सन कोष र सर्वसाधारण बचतकर्ता प्रभावित हुन सक्छन ्।
इतिहासले पनि देखाउँछ—सन् २००० को ‘डटकम बबल’ फुट्दा एनएसडिएक्यू सूचक ८० प्रतिशतसम्म घटेको थियो, जसले आर्थिक मन्दी निम्त्याएको थियो ।
नीति निर्माणको चुनौती
सन् २००८ मा सरकार र केन्द्रीय बैंकहरूले ठूलो मात्रामा राहत प्याकेज र ब्याजदर कटौतीमार्फत संकट नियन्त्रण गरेका थिए । तर अहिले त्यस्तो क्षमता सीमित भएको देखिन्छ ।
उदाहरणका लागि, बेलायतको सरकारी ऋण अहिले राष्ट्रिय आयको करिब १०० प्रतिशत पुगेको छ, जुन २००८ मा ५० प्रतिशतभन्दा कम थियो । यसले भविष्यमा ठूलो आर्थिक हस्तक्षेप गर्न कठिन बनाउन सक्छ ।
अन्तर्राष्ट्रिय मुद्रा कोषले पनि “नीतिगत विकल्पहरू सीमित हुँदै गएको” चेतावनी दिएको छ ।
कमजोर अन्तर्राष्ट्रिय सहकार्य
२००८ को संकटमा विश्व नेताहरूले संयुक्त रूपमा समाधान खोजेका थिए । तर अहिले विश्व राजनीति विभाजित छ, व्यापार, सुरक्षा र कूटनीतिमा मतभेद बढेका छन् ।
पूर्व बेलायती प्रधानमन्त्री गोर्डन ब्राउनले पनि अन्तर्राष्ट्रिय सहकार्य कमजोर भएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
आशा र चिन्ता दुवै
यद्यपि केही सकारात्मक संकेत पनि छन् । बैंकहरू अहिले पहिलेभन्दा धेरै पूँजीसहित बलिया छन्, जसले झट्का सहन सक्ने क्षमता बढाएको छ ।
तर विज्ञहरू चेतावनी दिन्छन्, यदि यी सबै जोखिमहरू एकैचोटि सक्रिय भए भने विश्व अर्थतन्त्र पुनः गम्भीर संकटमा पर्न सक्छ ।
एल–एरियनका अनुसार, “यस्ता आर्थिक संकटहरूले सबैभन्दा बढी असर कमजोर वर्गलाई पार्छ, किनकि उनीहरूसँग सामना गर्ने क्षमता कम हुन्छ ।”
बीबीसीबाट साभार





प्रतिक्रिया