इजरायली हवाई आक्रमणमा दक्षिणी लेबनानमा कम्तीमा १९ जनाको मृत्यु भएको छ। त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार देइर कानौन सहरमा एउटा घरमा गरिएको एकल आक्रमणमा तीन बालबालिका र तीन महिलासहित १० जनाको मृत्यु भएको हो।
इरान समर्थित शिया इस्लामिक सशस्त्र समूह हेजबुल्लाहले अमेरिकन–इजरायली हमलाको प्रतिशोधस्वरूप इजरायलमाथि रकेट प्रहार गरेपछि मार्च २ मा लेबनान युद्धमा तानिएको थियो। उक्त हमलामा इरानका सर्वोच्च नेताको मृत्यु भएको थियो।
अमेरिकाले लेबनान र इजरायलबीच ४५ दिनका लागि युद्धविराम लम्ब्याउने सहमति भएको घोषणा गरेको एक साताभन्दा कम समयमै यी नयाँ मृत्युका घटना भएका हुन्। दुवै पक्षले जुनको सुरुआतमा पुनः वार्ता गर्ने तयारी गरेका छन्।
युद्धविराम अवधि थपिए पनि इजरायल र हेजबुल्लाहबीच विशेषगरी दक्षिणी लेबनान क्षेत्रमा लगातार गोलाबारी भइरहेको छ। इजरायलले आफ्नो निशाना हेजबुल्लाह रहेको दाबी गरे पनि महिलाहरू र बालबालिकासहित सर्वसाधारण नागरिकहरू मारिने क्रम जारी छ।
हेजबुल्लाहले उत्तरी इजरायलका बस्तीहरू तथा दक्षिणी लेबनानमा तैनाथ इजरायली सैनिकहरूलाई लक्षित गर्दै रकेट र ड्रोन आक्रमण गर्दै आएको छ। मंगलबार इजरायली सेनाले दक्षिणी लेबनानमा हेजबुल्लाहको आक्रमणमा आफ्ना अर्का एक सैनिक मारिएको जनाएको छ।
लेबनानको स्वास्थ्य मन्त्रालयले देइर कानौनमा भएको घटनासँगै अन्य तीन जना घाइते भएको जनाएको छ, जसमा एक बालिका पनि रहेकी छन्।
यसैबीच, नाबाटियेह र टायर जिल्लामा इजरायली हवाई आक्रमणमा थप नौ जनाको मृत्यु भएको तथा २९ जना घाइते भएको मन्त्रालयले जनाएको छ। बीबीसीले यसबारे प्रतिक्रिया लिन इजरायली रक्षा बलसँग सम्पर्क गरेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार मार्चयता इजरायल र हेजबुल्लाहबीचको संघर्षमा इजरायली आक्रमणबाट लेबनानमा मृत्यु हुनेको संख्या ३ हजार नाघेको छ।
उता, हेजबुल्लाहले आफ्ना लडाकुहरूले हद्दाथा सहरको चौक नजिक अगाडि बढ्न खोजेको इजरायली सेनासँग भिडन्त गरेको जनाएको छ। एजेन्स फ्रान्स-प्रेसका अनुसार हेजबुल्लाहले आफ्ना लडाकुहरूले एउटा इजरायली ट्यांक ध्वस्त पारेको दाबी गरेको छ। हेजबुल्लाहले दक्षिणी लेबनानमा रहेका इजरायली सैनिक तथा उत्तरी इजरायलको सीमाक्षेत्र नजिक रहेका आइरन डोम हवाई सुरक्षा प्रणालीमाथि पनि आक्रमण गरेको जनाएको छ।
अमेरिकी मध्यस्थतामा भएको युद्धविराम सम्झौताले हेजबुल्लाहको सैन्य गतिविधि रोक्ने उद्देश्यले इजरायललाई आक्रमण जारी राख्न अनुमति दिएको छ। इजरायली स्थल सेनाले अझै पनि लेबनानी सीमाबाट करिब १० किलोमिटर भित्रसम्मको क्षेत्र आफ्नो नियन्त्रणमा राखेको छ, जुन उसले संघर्षका क्रममा कब्जा गरेको थियो।





प्रतिक्रिया