प्रतिनिधिसभाको मंगलबारको बैठकमा सत्ता पक्ष र विपक्षी दलबीच तीव्र विवाद भएपछि सदनको वातावरण तनावपूर्ण बनेको छ। विपक्षी दलहरूले प्रधानमन्त्रीसँग प्रश्नोत्तरको समय निर्धारण गर्न माग गर्दै लगातार विरोध जनाइरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलले उक्त विरोधलाई ‘तमासा’ भनेका छन् । बैठक अहिले केहीबेरका लागि स्थगित भएको छ ।
बैठकको कार्यसूचीअनुसार पर्यटन विधेयकमाथिको सैद्धान्तिक छलफल सुरु भएको थियो। सोही क्रममा रोष्ट्रममा पुगेका सांसद खरेलले विपक्षी दलको निरन्तर अवरोधप्रति टिप्पणी गर्दै संसद् प्रभावहीन बन्दै गएको बताएका थिए।
“मलाई आज गहिरोसँग महसुस भयो, सरकारले किन आठ वटा अध्यादेश ल्याउनुपर्यो भन्ने,” उनले भने, “२०७२ सालमा संविधान बनेपछि बनाउनुपर्ने धेरै ऐन किन बन्न सकेनन् भन्ने कुरा यही तमासाले देखाइरहेको छ।”
खरेलको उक्त अभिव्यक्तिपछि विपक्षी सांसदहरू आक्रोशित बनेका थिए। नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरूङ रोष्ट्रमतर्फ अघि बढ्न खोजेका थिए भने कांग्रेस प्रमुख सचेतक वासना थापाले उनलाई रोक्दै स्थिति नियन्त्रणमा ल्याउने प्रयास गरेकी थिइन्।
स्थिति थप तनावपूर्ण बनेपछि सभामुख डोलप्रसाद अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए।
यसअघि पनि संसद्मा प्रयोग भएका केही अभिव्यक्तिलाई सभामुखले असंसदीय ठहर गर्दै संसदीय रेकर्डबाट हटाउने निर्णय गरेका थिए। रास्वपा संसदीय दलका उपनेता गणेश पराजुली तथा एमाले नेता रामबहादुर थापाका केही टिप्पणी यसअघि रेकर्डबाट हटाइएका थिए।
यसैबीच विपक्षी दलहरूले प्रतिनिधिसभा नियमावलीअनुसार प्रधानमन्त्रीसँग मासिक प्रश्नोत्तरको समय तोक्न माग गर्दै आएका छन्। नियमावलीअनुसार प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीले संसद्मा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाफ दिनुपर्ने व्यवस्था भए पनि त्यसको कार्यान्वयन हुन नसकेको विपक्षीहरूको आरोप छ।
विपक्षी दलहरूले प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै बैठकमा उभिएर विरोध जनाइरहेका थिए। तर सभामुख अर्यालले कार्यसूची अगाडि बढाउँदै पर्यटन विधेयकमाथिको छलफल जारी राखेका थिए।
सभामुखले प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि मिति तय भएपछि जानकारी गराइने बताएका छन्। तर विपक्षी दलहरूले यसलाई पर्याप्त नमान्दै संसद्मा विरोध जारी राखेका छन्।





प्रतिक्रिया