सुशासन, राजनीतिक स्थिरता र समावेशी आर्थिक समृद्धि प्राथमिकतामा : प्रधानमन्त्री



नेपालका प्रधानमन्त्री बालेन शाहले सरकार नेपाली नागरिकको दैनिक जीवनस्तरमा वास्तविक सुधार ल्याउन प्रतिबद्ध रहेको बताउनुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा काठमाडौँ र नयाँदिल्लीस्थित युरोपेली संघ (इयू) तथा सदस्य राष्ट्रका राजदूतहरूसँग भएको संयुक्त भेटमा उहाँले वर्तमान सरकार सुशासन, राजनीतिक स्थिरता र समावेशी आर्थिक समृद्धिलाई प्राथमिकतामा राखेर अघि बढिरहेको स्पष्ट पार्नुभयो।

प्रधानमन्त्री शाहले हालै सम्पन्न निर्वाचनले सुशासन र आर्थिक रूपान्तरणका लागि स्पष्ट जनादेश दिएको उल्लेख गर्दै नयाँ सरकार बने पनि नीतिगत निरन्तरता कायम रहने बताउनुभयो। उहाँले लोकतान्त्रिक मूल्यमान्यता, पारदर्शिता र अनुमानयोग्य नीतिमार्फत लगानीमैत्री वातावरण निर्माण गरिने धारणा राख्नुभयो।

उहाँका अनुसार सरकारले विश्व बजारबाट लाभ लिन, विदेशी लगानी आकर्षित गर्न, नवप्रवर्तन प्रवर्द्धन गर्न तथा दिगो विकासका लक्ष्य हासिल गर्न विभिन्न प्रक्रिया थप सहज बनाइरहेको छ। साथै, व्यापार, हरित ऊर्जा, जलवायु र पर्यटन क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्न नेपाल इच्छुक रहेको उहाँले बताउनुभयो।

विदेश नीतिबारे प्रधानमन्त्री शाहले नेपालले सन्तुलित र व्यावहारिक कूटनीतिक नीति अवलम्बन गरिरहने स्पष्ट गर्दै छिमेकी र मित्रराष्ट्रसँगको सम्बन्ध आपसी सम्मान, सार्वभौम समानता र साझा समृद्धिमा आधारित रहने उल्लेख गर्नुभयो।

भेटका क्रममा विभिन्न देशका राजदूतहरूले शान्तिपूर्ण निर्वाचन सम्पन्न गरेकोमा नेपालको प्रशंसा गर्दै नयाँ सरकारलाई बधाई दिएका थिए। उनीहरूले आर्थिक विकास र समृद्धिका लागि नेपालसँग सहकार्य र लगानी विस्तार गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरेका थिए।

प्रकाशित मिति : १२ जेष्ठ २०८३, मंगलबार  ५ : ०० बजे