‘सदन चलेकै दिन प्रधानमन्त्री आउनुहुन्छ’ : मितिसहित रुलिङ माग्दा सभामुखको व्यंग्यात्मक जवाफ



प्रधानमन्त्री बालेन शाहको संसद् उपस्थितिको मिति तोक्न माग गर्दै विपक्षी दलहरूले लगातार दबाब बढाइरहेका बेला सभामुख डोलप्रसाद अर्यालले व्यंग्यात्मक शैलीमा सदन चलेकै दिन प्रधानमन्त्री आउनुहुन्छ भन्दै जवाफ दिएका छन् ।

प्रधानमन्त्रीको उपस्थिति र संसद्लाई सम्बोधनको माग गर्दै विपक्षी दलहरूले दुई सातादेखि प्रतिनिधिसभा बैठक अवरुद्ध गरिरहेका छन् । अवरोधकै बीच सरकारको नीति तथा कार्यक्रम, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता तथा वैकल्पिक विकास वित्त व्यवस्थापन विधेयक प्रतिनिधिसभाबाट पारित भइसकेका छन्।

मंगलबार पनि पर्यटन विधेयकमाथिको सैद्धान्तिक छलफल अवरोधकै बीच अघि बढिरहेको थियो। यसक्रममा जगदिश खरेलले अवरोधलाई “तमासा” को संज्ञा दिएपछि बैठक तनावपूर्ण बनेको थियो । त्यसपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए ।

फेरि बसेको बैठकमा रास्वपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्री एक हप्ताभित्र सदनमा उपस्थित हुन सक्ने जानकारी गराए । उनले प्रधानमन्त्रीको सचिवालयसँग छलफल भएको उल्लेख गर्दै “सम्भवतः एक हप्ताभित्र सदनमा उपस्थित हुनुहुनेछ” भनेका थिए । तर उनले प्रधानमन्त्री जवाफ दिन आउने वा केवल उपस्थित हुने भन्ने स्पष्ट पारेका थिएनन् ।

यसपछि विपक्षी दलहरूले प्रधानमन्त्री आउने ठोस मिति सार्वजनिक गर्न तथा सभामुखबाटै औपचारिक रुलिङ हुनुपर्ने माग गरेका थिए ।

जवाफमा सभामुख अर्यालले “माननीय सदस्यहरूले मिति माग्नुभएको छ, सदन चलेकै दिन आउनुहुन्छ सम्माननीय प्रधानमन्त्रीज्यू। म सदन चलेकै दिन सम्माननीयज्यूलाई बोलाउँछु,” भन्दै कटाक्षपूर्ण शैलीमा प्रतिक्रिया दिएका हुन् ।

सभामुखले कार्यपालिकाले व्यवस्थापिकालाई औपचारिक सूचना पठाउनुपर्ने प्रक्रिया रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले समय तय गरेपछि त्यसबारे संसद्लाई जानकारी गराइने बताए । आफूले सदनमा उठेका विषय प्रधानमन्त्रीलाई जानकारी गराइसकेको र त्यही नै आफ्नो रुलिङ भएको पनि उनले स्पष्ट पारे ।

प्रधानमन्त्रीको उपस्थितिलाई लिएर विपक्षी र सभामुखबीचको यो संवादले संसद्मा जारी राजनीतिक तनाव अझ स्पष्ट रूपमा सतहमा ल्याएको छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०८३, मंगलबार  ६ : २५ बजे