प्रतिनिधिसभा बैठकमा तनाव, विपक्षीद्वारा वेल घेराउ



प्रतिनिधिसभाको बैठकमा सोमबार तनावपूर्ण स्थिति सिर्जना भएको छ। यसअघि विपक्षी दलहरूको अवरोधका कारण स्थगित भएको बैठक पुनः सुरु भएलगत्तै विपक्षी सांसदहरूले वेल घेराउ गर्दै विरोध प्रदर्शन गरेका हुन्।

विरोधका क्रममा केही सांसदहरू सभामुखको आसनसम्म पुगेका थिए भने सभामुखविरुद्ध नाराबाजीसमेत गरेका थिए। बैठकमा प्रतिनिधिसभा नियमावली संशोधन मस्यौदामाथि दफावार छलफल सम्पन्न गरी संशोधन प्रस्तावहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको थियो।

विपक्षी दलहरूले भने नियमावलीमाथि परेका संशोधनहरूलाई संसदीय विषयगत समितिमा पठाएर थप छलफल गरिनुपर्ने माग गरेका थिए। नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले संशोधन प्रस्तावहरू विषयगत समितिमा पठाउन सभामुखसमक्ष आग्रह गरेकी थिइन्।

तर सभामुखले नियमावलीमाथिको दफावार छलफल सदनमै गर्ने गरी कार्यसूची तय भइसकेको उल्लेख गर्दै प्रक्रिया अघि बढाएका थिए। त्यसपछि सभामुखले संशोधन प्रस्तावहरूलाई निर्णयार्थ प्रस्तुत गर्न थालेपछि विपक्षी सांसदहरू वेलमा पुगेर विरोध जनाएका थिए।

प्रतिनिधिसभा नियमावलीको मस्यौदामा कुल ३५ वटा संशोधन प्रस्ताव दर्ता भएका छन्। विरोधका क्रममा केही सांसदहरूले कुर्सी उचाल्ने तथा सभामुखको आसननजिक पुग्ने प्रयास गरेका थिए, जसका कारण बैठकमा केहीबेर तनावपूर्ण अवस्था सिर्जना भएको थियो।

प्रकाशित मिति : १७ जेष्ठ २०८३, आइतबार  ९ : ३९ बजे