राष्ट्रिय सभाबाट चार अध्यादेश स्वीकृत, प्रतिस्थापन विधेयक ल्याउने बाटो खुला



राष्ट्रिय सभाले सरकारले जारी गरेका चार वटा अध्यादेश स्वीकृत गरेको छ ।

शुक्रबार बसेको राष्ट्रिय सभा बैठकले सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, सहकारी (पहिलो संशोधन) अध्यादेश तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश बहुमतले स्वीकृत गरेको हो ।

यसअघि शुक्रबार नै प्रतिनिधिसभाले पनि यी चारवटै अध्यादेश पारित गरिसकेको थियो । दुवै सदनबाट स्वीकृति पाएसँगै सरकारले अब ती अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक अघि बढाउने बाटो खुलेको छ ।

सरकारले संघीय संसद्को चालु अधिवेशन सुरु हुनुअघि आठ वटा अध्यादेश जारी गरेको थियो । ती अध्यादेशहरू गत वैशाख २८ गते अधिवेशनको पहिलो दिन नै प्रतिनिधिसभा र राष्ट्रिय सभामा पेश गरिएका थिए ।

हालसम्म सरकारले जारी गरेका आठमध्ये चार वटा अध्यादेश मात्रै संघीय संसद्का दुवै सदनबाट स्वीकृत भएका छन् भने बाँकी अध्यादेशमाथिको प्रक्रिया अझै टुंगिएको छैन ।

प्रकाशित मिति : ५ असार २०८३, शुक्रबार  ५ : १७ बजे