१ अर्ब डलर ठगी प्रकरणमा चिनियाँ अर्बपतिलाई अमेरिकामा ३० वर्ष जेल सजाय



चीनका सबैभन्दा धनी व्यवसायीमध्येका एक मानिएका गुओ वेङगुईलाई अमेरिकाको एक अदालतले करिब १ अर्ब अमेरिकी डलर बराबरको ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण प्रकरणमा दोषी ठहर गर्दै ३० वर्ष कैद सजाय सुनाएको छ । उनी माइल्स गुओ वा हो वान क्वोकका नामले पनि परिचित छन् ।

न्यूयोर्कस्थित अदालतकी न्यायाधीश अनालिसा टोरेस ले गुओले चीनमा लोकतन्त्र ल्याउने आशा गरेका मानिसहरूको विश्वासको दुरुपयोग गर्दै उनीहरूबाट पैसा उठाएर आफ्नो विलासी जीवनशैली चलाएको टिप्पणी गरेकी छन् ।

सजाय सुनाइँदा अदालत कक्ष गुओका समर्थकहरूले भरिएको थियो ।

अमेरिकी सरकारी वकिल सन एस. बक्ली ले गुओले हजारौं मानिसको विश्वासलाई आफ्नै लोभका लागि प्रयोग गरेको भन्दै, “ख्याति र सम्पत्तिले कसैलाई पनि कानुनभन्दा माथि राख्दैन” भन्ने सन्देश यस फैसलाले दिएको बताएका छन् ।

गुओ चीनमा रहँदा सफल रियल इस्टेट व्यवसायी थिए र चिनियाँ सरकारसँग निकट सम्बन्ध रहेको मानिन्थ्यो। तर पछि उच्च चिनियाँ अधिकारीहरूले उनीमाथि भ्रष्टाचारको आरोप लगाएपछि उनी सन् २०१७ मा अमेरिका भागेका थिए र त्यहाँ राजनीतिक शरण मागेका थिए।

अमेरिका पुगेपछि उनी चिनियाँ कम्युनिस्ट पार्टीका कट्टर आलोचकका रूपमा परिचित बने । उनले सामाजिक सञ्जालमार्फत विशेषगरी अमेरिकामा रहेका चिनियाँ समुदायबीच ठूलो समर्थक समूह बनाएका थिए ।

अभियोजन पक्षका अनुसार गुओले सन् २०१८ देखि २०२३ सम्म आफ्ना अनलाइन समर्थकहरूलाई विभिन्न लगानी योजना र क्रिप्टोकरेन्सी परियोजनामा लगानी गर्न प्रेरित गर्दै १ अर्ब डलरभन्दा बढी रकम संकलन गरेका थिए ।

उक्त रकम उनले ५० हजार वर्गफिटको आलिशान हवेली, १० लाख डलरको ल्याम्बोर्गिनी कार र ३ करोड ७० लाख डलर मूल्यको लक्जरी याट लगायतका विलासी जीवनशैलीमा खर्च गरेको अभियोजन पक्षको दाबी छ ।

तर गुओले भने आरोप अस्वीकार गर्दै उक्त रकम आफ्नो राजनीतिक अभियान र चीनमा लोकतन्त्रको पक्षमा गरिएको गतिविधिका लागि प्रयोग गरिएको बताएका थिए ।

गुओले चीनको कम्युनिस्ट शासनका आलोचकहरूसँग निकट सम्बन्ध बनाएका थिए । उनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प का पूर्व सल्लाहकार स्टिभ ब्यानन सँगको सम्बन्धका कारण पनि चर्चामा आएका थिए ।

प्रकाशित मिति : १६ असार २०८३, मंगलबार  १ : ३३ बजे