सरकारले खेलकुद क्षेत्रको विकासमा पर्याप्त ध्यान दिनुपर्छ : केपी शर्मा ओली



नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले खेलकुद क्षेत्रको विकासमा पर्याप्त ध्यान नदिएको टिप्पणी गर्दै नेपाली खेलाडीको शारीरिक विकासदेखि अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको वातावरण सुनिश्चित गर्न राज्यले प्राथमिकता दिनुपर्ने बताएका छन्। उनले सरकारको हस्तक्षेपका कारण अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्राष्ट्रिय संकटमा परेको दाबी गर्दै त्यसलाई तत्काल समाधान गर्न आग्रह गरे।

मंगलबार काठमाडौंमा नेपाल खेलकुद विकास महासंघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपाली खेलाडीहरू पर्याप्त पोषण र शारीरिक विकासको अवसरबाट वञ्चित हुन नहुने बताए। “खेल विकासका लागि सिंगै नेपालीको हाइट बढाउनुपर्ने छ। खेलाडी खान नपाएर कमजोर हुने अवस्था हुनुहुँदैन, यसतर्फ सरकारले ध्यान दिनुपर्छ,” उनले भने।

ओलीले सरकारले खेलकुद क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको आरोप लगाउँदै त्यसकै परिणामस्वरूप एन्फा अन्तर्राष्ट्रिय स्तरमा समस्यामा परेको दाबी गरे। “यहाँ त सरकार हस्तक्षेप गरेर एन्फालाई अन्तर्राष्ट्रिय खेलमा प्रतिबन्ध लाग्ने अवस्थातर्फ पुर्‍याएको छ। यस्तो अवस्थालाई टुप्पोमा परिवर्तन खोजेर हुँदैन, जरैदेखि सुधार गर्नुपर्छ,” उनले बताए।

उनले खेलकुद क्षेत्रमा आबद्ध व्यक्तिहरूलाई मनोबल कमजोर नबनाउन आग्रह गर्दै एन्फालाई वर्तमान संकटबाट मुक्त गराएर नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय मञ्चमा चम्काउने वातावरण बनाउनुपर्नेमा जोड दिए। खेलाडीहरूको सफलताले नेपालको प्रतिष्ठा विश्वभर बढाउने भएकाले खेलकुद क्षेत्रको समग्र विकासमा सबै पक्षले सहकार्य गर्नुपर्ने उनको भनाइ थियो।

अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकारले खेलकुद पूर्वाधार तथा खेल क्षेत्रको विकासका लागि महत्वपूर्ण काम गरेको दाबी पनि गरे। साथै, खेलकुदको प्रगति देशको समग्र अवस्था र नीतिगत वातावरणसँग जोडिएको उल्लेख गर्दै उनले देश अस्थिर हुँदा खेल क्षेत्रले मात्र अपेक्षित उपलब्धि हासिल गर्न नसक्ने धारणा राखे।

भाषणका क्रममा उनले पछिल्लो समय देखिएका आन्दोलन र हिंसात्मक गतिविधिप्रति पनि टिप्पणी गरे। जेनजी आन्दोलन लाई हिंसात्मक गतिविधिसँग जोड्दै उनले तोडफोड, हत्या र हिंसालाई वैधानिकता दिन खोजिएको आरोप लगाए। उनका अनुसार भूकम्प र कोभिड–१९ महामारीपछि मुलुकलाई पुनः उकास्ने प्रयास भइरहेका बेला यस्ता गतिविधिले देशलाई थप क्षति पुर्‍याएको छ।

कार्यक्रमको अन्त्यमा अध्यक्ष ओलीले देश नै सबैभन्दा ठूलो भएको उल्लेख गर्दै सबै नेपालीले न्याय पाउने, एकअर्कालाई सम्मान गर्ने र राष्ट्रप्रेममा आधारित प्रणाली निर्माण गर्नुपर्नेमा जोड दिए। “देशभन्दा माथि केही छैन,” उनले भने, “हामी सबैले आफ्नो देशलाई माया गर्दै नेपालको समृद्धिका लागि अघि बढ्नुपर्छ।”

प्रकाशित मिति : १६ असार २०८३, मंगलबार  ४ : ३३ बजे