डिजिटल उपकरणहरूले घाटीमा अतिरिक्त २७ केजी दबाव



हामीले मोबाइल, कम्प्युटर वा अन्य डिजिटल उपकरणको असरबारे सोच्दा प्रायः मानसिक स्वास्थ्यलाई मात्र ध्यान दिन्छौं । तर पछिल्ला अध्ययनहरूले देखाएका छन् कि यी उपकरणहरूले हाम्रो शरीरको बनावट, दृष्टि, मांसपेशीको शक्ति, हातको समन्वय र छालासम्ममा असर पार्न सक्छन्। राम्रो पक्ष के हो भने, यी समस्यामध्ये धेरैलाई सामान्य बानी परिवर्तन गरेर कम गर्न सकिन्छ ।

मोबाइल हेर्दा धेरैजसो मानिसले टाउको तल झुकाउँछन् । यसलाई “फरवार्ड हेड पोस्चर” भनिन्छ । यस्तो अवस्थामा घाँटीमा करिब २७ किलोग्राम (६० पाउन्ड) बराबरको अतिरिक्त दबाब पर्न सक्छ ।

लामो समयसम्म यस्तो अवस्था रहँदा मेरुदण्डका डिस्कमा क्षति पुग्न सक्छ, जोर्नी र मांसपेशी कमजोर हुन सक्छन्, फोक्सोको क्षमता पनि घट्न सक्छ तथा शरीरको बनावट स्थायी रूपमा परिवर्तन हुन सक्छ ।

यसकाे समाधान भनेकाे मोबाइललाई सकेसम्म आँखाको सतहसम्म उठाएर प्रयोग गर्ने, स्क्रिन अनुहारबाट करिब एक हात टाढा राख्ने, कम्प्युटरको मोनिटर पनि आँखाको उचाइमा राख्ने, तथा प्रत्येक ३० मिनेटमा करिब २० मिनेटको स्क्रिन ब्रेक लिने वा नियमित रूपमा उठेर शरीर चलाउने हुन सक्छ ।

धेरै समयसम्म घाँटी मोडेर बस्दा चाउरी पर्न सक्छ भन्ने चिन्ता बढेको छ। बेलायतकी छाला रोग विशेषज्ञ जस्टिन हेक्सटलका अनुसार, बारम्बार एउटै भागमा तनाव पर्दा चाउरी पर्नु सैद्धान्तिक रूपमा सम्भव भए पनि यसको स्पष्ट वैज्ञानिक प्रमाण भने अहिलेसम्म भेटिएको छैन । त्यसैले “टेक नेक” हटाउने दाबी गर्ने महँगा छाला उत्पादनहरू प्रयोग गर्नुअघि सावधानी अपनाउन सुझाव दिइएको छ ।

हामीलाई स्मार्ट वाचले पनि असर गर्न सक्छ । दिनभर स्मार्ट वाच नखाेल्दा पसिना र चिस्यानका कारण छालामा जलन हुन सक्छ, एक्जिमा हुन सक्छ तथा निकेल, रबर, लेटेक्स वा अन्य रसायनप्रति एलर्जी विकसित हुन सक्छ ।

स्मार्ट वाच बेला–बेला खोल्ने, छाला सफा राख्ने, आवश्यक परे सुरक्षात्मक (ब्यारियर) क्रिम प्रयोग गर्ने यसकाे समाधान हुन सक्छ ।

विश्वभर नजिकको वस्तु मात्र स्पष्ट देख्ने समस्या (मायोपिया) बढिरहेको छ । धेरैले यसको दोष मोबाइललाई दिन्छन् । तर अमेरिकाको डाेनाल्ड मुट्टी नेतृत्वमा गरिएको लामो अध्ययनले मोबाइललाई मात्र दोष दिन नमिल्ने देखाएको छ । अध्ययनअनुसार मुख्य समस्या भनेको बाहिर कम समय बिताउनु हो ।

बाहिरको उज्यालोले आँखामा डोपामिन स्राव बढाउँछ, जसले आँखाको स्वस्थ विकासमा सहयोग पुर्‍याउन सक्छ ।

आजकल हातको ग्रिप स्ट्रेन्थ (समात्ने शक्ति) स्वास्थ्यको महत्वपूर्ण सूचक मानिन्छ।

अध्ययनहरूले देखाएका छन् कि कमजोर ग्रिप शक्ति समग्र स्वास्थ्य कमजोर भएको संकेत र दीर्घकालीन स्वास्थ्य जोखिमसँग सम्बन्धित हुन सक्छ ।

जर्मनीका चिकित्सा समाजशास्त्री जाेहानेस बेलरका अनुसार, धेरै समय कम्प्युटर अगाडि बस्ने जीवनशैलीले शारीरिक क्षमता घटाउन योगदान गरिरहेको हुन सक्छ ।

जर्मनीका विकास मनोविज्ञानका प्राध्यापक सेबास्टियन सगेटका अनुसार, डिजिटल उपकरणले क्लिक, ट्याप र स्वाइपजस्ता काममा दक्षता बढाउन सक्छ ।

तर धेरै स्क्रिन प्रयोग गर्ने बालबालिकामा सूक्ष्म मोटर सीप कमजोर हुने सम्भावना देखिएको छ । यसले सिकाइ क्षमता र संज्ञानात्मक विकासमा समेत असर पार्न सक्छ ।

डिजिटल उपकरण हाम्रो दैनिक जीवनको अभिन्न हिस्सा बनिसकेका छन् । तर लामो समयसम्म गलत तरिकाले प्रयोग गर्दा यसले घाँटी, मेरुदण्ड, आँखा, छाला, हातको शक्ति र शरीरको समन्वयमा नकारात्मक असर पार्न सक्छ ।

सुखद पक्ष के हो भने, मोबाइल सही उचाइमा राख्ने, नियमित ब्रेक लिने, व्यायाम गर्ने, बाहिर समय बिताउने र शरीरलाई सक्रिय राख्ने जस्ता साना बानीले यी धेरै जोखिमहरू कम गर्न सकिन्छ । प्रविधिबाट टाढा भाग्नु समाधान होइन, बरु त्यसको सन्तुलित र सही प्रयोग नै स्वस्थ शरीरको आधार हो ।

प्रकाशित मिति : १८ असार २०८३, बिहिबार  ११ : १७ बजे