काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद राजुनाथ पाण्डेले नेपाली सेनाका केही बहालवाला र अवकाशप्राप्त अधिकृतहरूले राजनीति गरिरहेको आरोप लगाउँदै ‘राजनीति गर्ने नै भए चुनाव जितेर देखाउन’ चुनौती दिएका छन् । सडक विस्तारको नाममा ब्यारेकको पर्खाल भत्काउन डोजर लिएर पुगेपछि चर्को आलोचना खेपेका पाण्डेले उक्त घटनाप्रति माफी मागेका थिए । सांसद पाण्डेले सेनाभित्रका केही व्यक्तिले आफूविरुद्ध भ्रम फैलाइरहेको भन्दै आक्रोश पोखेका हुन् ।
दुई साताअघि गोकर्णेश्वरमा एक सैनिक अधिकृतलाई थर्काउँदै ब्यारेकको पर्खालमा डोजर चलाउन पुगेका उनलाई केही युटुबरले ‘सेनासँगको ग्रह मिल्यो कि मिल्न बाँकी छ ?’ भनेर सोधेका थिए । जवाफमा उनले सेनाभित्रका केही मान्छेले राजनीति गरेर आफूलाई गलत देखाउन खोजिरहेको प्रतिक्रिया दिए । उनले सेनाभित्रका केही समूहले भ्रम फैलाइरहेको आरोप लगाए ।
‘नेपाली सेना तीन करोड जनताको सेनाको हो, तर अहिले सामाजिक सञ्जालमा के देखिरहेको छु भने केही समूहले जनताको सेनाभन्दा पनि आफ्नो सेना जसरी भ्रम फैलाइरहेका छन्’, सांसद पाण्डेले भने, ‘मेरो त छिमेकी नै जर्साब र कर्साबहरु हुनुहुन्छ, तर सेनाभित्रका केही समूह, जर्साबहरुलाई देखिरहेको छु, जो कोर्ट मार्शल र कारवाही भोगिरहेका छन्, उनीहरुले भ्रम फैलाइरहेका छन् ।’
उनले सेनाभित्रका केही अधिकृत र अवकाशप्राप्त सैनिक अधिकारीप्रति लक्षित गर्दै उनीहरूले भ्रम फैलाउने काम गरिरहेको दाबी गरे । सेनासँगको सम्बन्ध र उक्त घटनाबारे सोधिएको प्रश्नमा पाण्डेले आफूलाई गलत देखाउन सेनाभित्रकै केही समूहले राजनीति गरिरहेको आरोप लगाए । राजनीति गर्ने भए चुनावी मैदानमा आउन समेत उनले चुनौती दिएका छन् । ‘खबरदार, धेरै भ्रम फैलाइरहनु पर्दैन । राजनीति गर्ने मन भए जनतामा आउने, जितेर देखाउने, नत्र समाज भड्काएर बस्ने होइन,’ पाण्डेले भने ।





प्रतिक्रिया