गृहमन्त्री सुधन गुरुङले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका लागि सरकारले हरसम्भव प्रयास गरेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नेपालीलाई बचाउन राति नै एयर एम्बुलेन्समार्फत भारत लैजाने तयारी गरिएको भए पनि स्वास्थ्य अवस्था अत्यन्त जटिल भएका कारण सम्भव नभएको जानकारी दिए ।
सदनमा सम्बोधन गर्न रोस्ट्रममा पुगेका गुरुङ केहीबेर भावुक बनेका थिए । पछि पुनः बोल्दै उनले उक्त घटनामा संघीय सरकारको प्रत्यक्ष भूमिका नरहेको दाबी गरे र घटनालाई लिएर आफूविरुद्ध लगाइएका ‘स्टन्टबाजी’का आरोपप्रति आपत्ति जनाए ।
“मलाई स्टन्टबाजी गर्ने कुनै इच्छा छैन, देशको सेवा गर्न आएको हुँ । अस्पतालमा गणेश नेपालीको अवस्था बुझ्न कति जना सांसद जानुभयो ? चर्को स्वरमा बोल्नुभन्दा जनताको सेवा गरेर देखाउनुपर्छ ।”, उनले भने ।
गृहमन्त्रीले आत्मदाहको घटनासँग सम्बन्धित ‘ह्वील लक’ प्रसंगमा पनि स्पष्टीकरण दिएका छन् । उनका अनुसार नेपालीको मोटरसाइकलमा ट्राफिक प्रहरीले नभई स्थानीय तहअन्तर्गतको महानगर प्रहरीले ह्वील लक लगाएको थियो। उनले घटनास्थलमा कुन दलको स्थानीय सरकार र प्रदेश सरकार रहेको छ भन्ने प्रश्न उठाउँदै संघीय सरकारमाथि मात्र दोष थोपर्न नमिल्ने तर्क गरे ।
“हाम्रो तीन तहको सरकार हुन्छ संघीय, प्रदेश र स्थानीय। जुन ठाउँमा घटना भयो, त्यहाँ ट्राफिक प्रहरीले ह्वील लक गरेको होइन। स्थानीय सरकार कसको छ ? प्रदेश सरकार कसको छ ? बनाइएको कानुनअनुसार नै काम भएको हो ।”
गुरुङले पछिल्लो समय आफूले धेरै दबाब र आलोचना सामना गरिरहेको उल्लेख गर्दै नागरिकको सुरक्षाका लागि सरकार चौबीसै घण्टा खटिएको दाबी गरे । उनले सांसदहरूलाई संसद्मा मात्र आवाज उठाउनुभन्दा कार्यथलोमा पुगेर जनताको सेवा गर्न आग्रह गरे ।
गणेश नेपालीले बिहीबार राहदानी विभाग अगाडि आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए । गम्भीर घाइते भएका उनको वीर अस्पतालमा उपचारका क्रममा शुक्रबार निधन भएको हो ।




प्रतिक्रिया