त्रिभुवन विश्वविद्यालय (त्रिवि) को व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह (एमबीए/एमबीएस प्रथम सत्र) को परीक्षा सञ्चालन भइरहेका बेला प्रश्नपत्र सामाजिक सञ्जालमार्फत बाहिरिएको घटनाले गम्भीर विवाद उत्पन्न गरेको छ । घटनापछि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ भने त्रिविले छानबिन समिति गठन गरेको छ । उता, स्वतन्त्र विद्यार्थी युनियन (स्वविय) ले दोषीमाथि कडा कारबाही र सम्बन्धित पदाधिकारीको नैतिक जिम्मेवारीसहित राजीनामाको माग गरेको छ ।
त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय डीनको कार्यालय अन्तर्गतको परीक्षा सञ्चालन समितिले आइतबार विज्ञप्ति जारी गर्दै परीक्षा सञ्चालनकै क्रममा प्रश्नपत्र सामाजिक सञ्जालमा सार्वजनिक भएको घटनाले परीक्षाको मर्यादा र विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाएको जनाएको छ । घटनाको सत्यतथ्य पत्ता लगाउन प्रा.डा. अच्युत ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ ।
समितिमा अनुगमन निर्देशनालयका उपनिर्देशक सहप्राध्यापक डा. पुष्कर रैखला र केन्द्रीय परीक्षा सञ्चालन समितिका सदस्य सहप्राध्यापक डा. महेशराज ओझा सदस्य रहेका छन् । समितिलाई घटनाबारे अनुसन्धान गरी सात कार्यदिनभित्र प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ ।
प्रश्नपत्र बाहिरिएको घटनामा संलग्न रहेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ‘सुलभ सर’ भनेर चिनिने एक व्यक्ति सहित दुई जना रहेका छन् ।
प्रहरीका अनुसार स्नातकोत्तर तहको ‘अर्गनाइजेसनल बिहेवियर‘ विषयको परीक्षा सुरु भएको करिब पाँच मिनेटमै एमबीएस फर्स्ट सेम सेक्सन सी नामक ह्वाट्सएप समूहमा प्रश्नपत्र सार्वजनिक गरिएको थियो । त्यसपछि उक्त प्रश्नपत्र अन्य सामाजिक सञ्जालमा समेत फैलिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
घटनापछि शिक्षामन्त्री सस्मित पोखरेलले शनिबार राति नै नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीसँग छलफल गरेका थिए । उनले प्रश्नपत्र बाहिर ल्याउने कार्यमा संलग्न व्यक्तिलाई तत्काल नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाउन निर्देशन दिएका थिए ।
त्यसपछि मन्त्री पोखरेलले मन्त्रालयमै सम्बन्धित अधिकारी तथा त्रिविका पदाधिकारीसँग छलफल गर्दै घटनाको छानबिन, दोषीमाथि कारबाही र परीक्षा प्रणालीको विश्वसनीयता कायम गर्ने विषयमा परामर्श गरेका थिए ।
प्रश्नपत्र सार्वजनिक भएपछि त्रिविको व्यवस्थापन संकाय डीन कार्यालयले नेपाल प्रहरीको साइबर ब्युरोलाई औपचारिक पत्राचार गरी अनुसन्धानका लागि सहयोग मागेको थियो । यसअघि ‘टीयू स्टुडेन्ट्स’ नामक फेसबुक पेजले ह्वाट्सएप समूहका स्क्रिनसट सार्वजनिक गर्दै प्रश्नपत्र परीक्षा सञ्चालनकै क्रममा बाहिरिएको दाबी गरेको थियो ।
यस घटनाप्रति त्रिवि स्वतन्त्र विद्यार्थी युनियन (स्वविय) ले गम्भीर आपत्ति जनाउँदै दुई दिनभित्र निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न माग गरेको छ ।
स्वविय अध्यक्ष दीपक जोशीले परीक्षाको निष्पक्षता र विश्वविद्यालयको गरिमामाथि कुनै सम्झौता हुन नसक्ने भन्दै प्रश्नपत्र कसरी बाहिरियो, कसको संलग्नता थियो भन्ने विषयमा पारदर्शी अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्ने बताएका छन् ।
उनले दोषीमाथि कारबाही नभए व्यवस्थापन संकायका डीन तथा परीक्षा हेर्ने सहायक डीनले नैतिक जिम्मेवारी लिएर राजीनामा दिनुपर्ने माग पनि गरेका छन् ।
प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा सार्वजनिक भएको घटनाले त्रिभुवन विश्वविद्यालयको परीक्षा प्रणाली, सुरक्षा व्यवस्था र विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाएको छ ।



प्रतिक्रिया