उदयपुरको कटारी नगरपालिका–३ हडैयामा पौडी खेल्ने क्रममा डुबेर एकै परिवारका तीन बालकको ज्यान गएको छ।
मृत्यु हुनेमा स्थानीयवासी दाजुभाइ ११ वर्षीय सुमितकुमार दनुवार, ७ वर्षीय सुगमकुमार दनुवार र ८ वर्षीय आदित्यकुमार दनुवार रहेका छन् ।
इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) उपेन्द्र खरेलका अनुसार हडैयास्थित खहरे खोलामा बाँध लगाउँदा बनेको गहिरो खाल्डोमा जमेको पानीमा पौडी खेल्ने क्रममा तीनै बालक डुबेका थिए ।
घटनापछि स्थानीयवासीले तत्काल उद्धार गरी उपचारका लागि कटारी प्रादेशिक अस्पताल पुर्याएका थिए । तर, चिकित्सकले परीक्षणपछि उनीहरूलाई मृत घोषणा गरेका हुन् ।
प्रहरीले तीनै बालकको शव पोस्टमार्टमका लागि कटारी प्रादेशिक अस्पतालमा राखिएको जनाएको छ । घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।




प्रतिक्रिया