प्रधानमन्त्री शाह र चिनियाँ राजदूत माओमिङबीच भेट, नेपाल–चीन सहकार्य बिस्तार गर्ने



प्रधानमन्त्री वालेन्द्र शाहले नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङसँग शिष्टाचार भेटवार्ता गरेका छन् । सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा नेपाल–चीन सम्बन्ध, विकास साझेदारी तथा विभिन्न क्षेत्रमा सहकार्य विस्तारका विषयमा छलफल भएको छ ।

भेटका क्रममा प्रधानमन्त्री शाहले नेपाल र चीनबीचको ऐतिहासिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा सहकार्य अघि बढाउनुपर्नेमा जोड दिएका थिए ।

राजदूत माओमिङले प्रधानमन्त्री शाहलाई शुभकामना व्यक्त गर्दै दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटमा नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने तथा विकासका विभिन्न क्षेत्रमा चिनियाँ सहयोग र साझेदारीलाई प्रभावकारी रूपमा अघि बढाउने विषयमा समेत छलफल भएको थियो ।

प्रधानमन्त्री शाहले सोमबार नै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग पनि शिष्टाचार भेटवार्ता गरेका थिए । एकै दिन नेपालका दुवै छिमेकी मुलुकका राजदूतसँग भएको भेटवार्तालाई नेपालले भारत र चीनसँगको सम्बन्धलाई समान महत्त्वका साथ अघि बढाउन खोजेको सन्देशका रूपमा हेरिएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०८३, सोमबार  ४ : २८ बजे