अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना टर्कीमा भएको नेटो शिखर सम्मेलनबाट फर्किने क्रममा इरानबाट सम्भावित क्षेप्यास्त्र आक्रमणको खतराका कारण गोप्य रूपमा विमान परिवर्तन गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।
‘द वासिङ्टन पोस्ट’का अनुसार ट्रम्प टेलिभिजन क्यामेराको दृश्यमा एयर फोर्स वनमा चढेको देखिए पनि त्यसपछि उनलाई क्याटरिङ ट्रकको सहायताले अर्को सैन्य विमानमा गोप्य रूपमा सारिएको थियो । विमानमा रहेका केही पत्रकार र ह्वाइट हाउसका कर्मचारीलाई समेत राष्ट्रपति विमानमा नरहेको जानकारी दिइएको थिएन ।
अमेरिकाले ट्रम्प सवार विमानलाई लक्षित गरी इरानले क्षेप्यास्त्र प्रहार गर्न सक्ने विश्वसनीय खतरा पहिचान गरेको अमेरिकी सञ्चारमाध्यम सीबीएस न्युजलाई अधिकारीहरूले बताएका छन्। यद्यपि, ह्वाइट हाउसले विमान परिवर्तनसम्बन्धी विवरणको पुष्टि गरेको छैन ।
ट्रम्प नेटो सम्मेलनका क्रममा अंकारामा रहँदा आफू इरानको ‘नम्बर एक लक्ष्य’ रहेको बताएका थिए । यो गोप्य विमान परिवर्तन अमेरिकाले इरानमाथि पुनः सैन्य आक्रमण सुरु गरेको भोलिपल्ट भएको थियो । वासिङ्टन र तेहरानबीच युद्ध अन्त्य गर्ने वार्ता असफल भएपछि अमेरिकाले इरानमाथि पुनः आक्रमण गरेको थियो ।
ट्रम्प टर्की जाँदा कतारले उपहार दिएको नयाँ बोइङ ७४७–८ विमानमा पुगेका थिए । तर, फर्कने क्रममा उनले ‘पुरानो एयर फोर्स वन’मै यात्रा गर्ने घोषणा गरेका थिए ।
८ जुलाईमा अंकारा विमानस्थलमा ट्रम्प पुरानो एयर फोर्स वनमा चढेको दृश्य सार्वजनिक भएको थियो । तर, ‘द वासिङ्टन पोस्ट’का अनुसार त्यसपछि उनलाई विमानको अर्को भागबाट क्याटरिङ ट्रकमार्फत गोप्य रूपमा सानो सैन्य विमान सी–३२ए मा सारिएको थियो। सी–३२ए बोइङ ७५७ को परिमार्जित संस्करण हो, जुन प्रायः अमेरिकी उपराष्ट्रपतिले प्रयोग गर्ने गर्छन् ।
राष्ट्रपति विमान परिवर्तन गरिएको तथ्य लुकाउन अमेरिकी रक्षामन्त्री पिट हेगसेथ पनि छुट्टै भर्याङ प्रयोग गर्दै सी–३२ए मा चढेका थिए । उता, पत्रकार तथा केही ह्वाइट हाउस कर्मचारीलाई भने पुरानै एयर फोर्स वनमा राखिएको थियो र उनीहरूलाई विमानका झ्यालका पर्दा बन्द गर्न भनिएको थियो ।
ट्रम्प भने सी–३२ए मार्फत बेलायत पुगेका थिए। त्यहाँबाट उनी पुनः पुरानो एयर फोर्स वनमा चढेको र राफ मिल्डेनहलमा विमान अवतरण भएपछि ओर्लिएको देखिएको थियो । सी–३२ए बाट पुरानो एयर फोर्स वनमा उनी कसरी फर्किए भन्ने स्पष्ट छैन ।
त्यसपछि ट्रम्प कतारले उपहार दिएको नयाँ एयर फोर्स वनमा चढेर बेलायतबाट अमेरिका फर्किएका थिए । उक्त यात्राका क्रममा उनले पत्रकारहरूसँग इरानबाट आफूलाई रहेको खतराबारे चर्चा गरे पनि टर्कीबाट बाहिरिँदा गरिएको गोप्य विमान परिवर्तनबारे केही बताएनन् ।
टर्कीबाट उडेको विमानमा पत्रकारलाई झ्यालका पर्दा बन्द गर्न किन भनिएको थियो भन्ने प्रश्नमा ट्रम्पले इरानसँग सम्बन्धित खतरातर्फ संकेत गर्दै आफूलाई ‘सधैं खतरा’ रहेको बताएका थिए। उनले आफू इरानको ‘नम्बर एक’ सूचीमा रहेको दाबीसमेत गरेका थिए ।
ह्वाइट हाउसका सञ्चार निर्देशक स्टिभन चिउङले ट्रम्पले विमान परिवर्तन गरेको रिपोर्टलाई प्रत्यक्ष रूपमा पुष्टि वा खण्डन गरेनन्। उनले कतारले दिएको नयाँ एयर फोर्स वन अत्याधुनिक विमान रहेको र राष्ट्रपति तथा उनको टोलीको सुरक्षाका लागि विशेष सुरक्षा प्रणाली जडान गरिएको बताएका छन् ।
यसअघि पनि अमेरिकी गुप्तचर निकायले ट्रम्प वा उनी सवार विमानमाथि आक्रमण हुन सक्ने विशेष खतराबारे चेतावनी दिएको सीबीएस न्युजले जनाएको थियो ।
कतारले दिएको करिब ४० करोड डलर मूल्यको बोइङ ७४७–८ विमानलाई राष्ट्रपतिको प्रयोगका लागि तयार पार्न अमेरिकाले महिनौंदेखि आवश्यक सुरक्षा तथा प्राविधिक सुधार गरिरहेको छ । पुराना एयर फोर्स वन विमानमा आउने क्षेप्यास्त्रलाई निष्क्रिय पार्न सक्ने लेजर प्रविधि रहेको बताइएको छ। कतारबाट प्राप्त नयाँ विमानमा यस्ता सुरक्षा प्रणाली कुन स्तरमा छन् भन्ने भने स्पष्ट छैन ।
ह्वाइट हाउसकी प्रेस सचिव करोलिन लेभिटले नयाँ एयर फोर्स वन राष्ट्रपतिको यात्राका लागि पूर्ण रूपमा सुरक्षित रहेको बताउँदै आगामी शरद ऋतुमा थप सुरक्षा तथा प्राविधिक सुधार गरिने जानकारी दिएकी छन् ।





प्रतिक्रिया