सहिदको त्यागबाट प्राप्त उपलब्धिको रक्षा गर्नुपर्छ : मुख्यमन्त्री थापा



हेटौँडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापामगरले सहिदहरूको त्याग, बलिदान र सङ्घर्षबाट प्राप्त उपलब्धिको रक्षा गर्दै जनअपेक्षाअनुसार सुशासन, विकास र समृद्धिको यात्रालाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मुख्यमन्त्रीमा नियुक्त भएपछि पहिलो सार्वजनिक कार्यक्रममा सहभागी हुँदै शुक्रबार हेटौँडा उपमहानगरपालिका वडा नम्बर–११ नवलपुरस्थित सहिद स्मारकमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गर्दै उनले लोकतान्त्रिक व्यवस्था र सङ्घीय शासन प्रणाली सहिदहरूको बलिदानबाट प्राप्त भएको उल्लेख गरे ।

उनले सहिदहरूको सपना केवल सम्झनामा सीमित नराखी व्यवहारमा उतार्नु अहिलेको पुस्ताको जिम्मेवारी भएको बताए । प्रदेश सरकारले जनताप्रति उत्तरदायी, पारदर्शी र परिणाममुखी शासन सञ्चालनलाई प्राथमिकतामा राख्ने उनको भनाइ थियो ।

मुख्यमन्त्री थापाले आफू नेतृत्वको सरकारले सुशासन, विकास, सेवा प्रवाहको प्रभावकारिता र जनविश्वास अभिवृद्धिलाई केन्द्रमा राखेर काम गर्ने बताए । मुख्यमन्त्रीको पदभार ग्रहण गरे लगत्तै ’राष्ट्रिय सदाचार नीति–२०८३’ लाई प्रदेश स्तरमा कार्यान्वयन गर्ने निर्णय उनले भ्रष्टाचार नियन्त्रण, प्रशासनिक सुधार र नैतिक शासनलाई प्रदेश सरकारको प्राथमिक एजेन्डा बनाइने बताए ।

उनले प्रदेश सरकारलाई प्रविधिमैत्री, पारदर्शी र उत्तरदायी बनाउने गरी प्रशासनिक सुधारका कार्यक्रम अघि बढाइने तथा विकास आयोजनाको प्रभावकारी कार्यान्वयनमा विशेष ध्यान दिइने स्पष्ट पारे ।

सहिद स्मारकमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्री सरल सहयात्री, भौतिक पूर्वाधार विकास मन्त्री भरतबहादुर केसी, बिना विभागीय मन्त्री ज्ञानबहादुर तामाङ, खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री राजु विष्ट तथा उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री राजेन्द्र प्रजापति सहभागी थिए ।

प्रकाशित मिति : ५ भाद्र २०८३, शुक्रबार  ११ : ३८ बजे