त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त



काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालयसहित ६ विश्वविद्यालयमा नयाँ रजिस्ट्रार नियुक्त गरेको छ।

प्रधानमन्त्री तथा सम्बन्धित विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले उपकुलपतिको सिफारिसमा पदाधिकारी नियुक्त गरेका हुन्।

त्रिविको रजिस्ट्रारमा प्रा. रवीन्द्र शिवाकोटी र शिक्षाध्यक्षमा प्रा.डा. अञ्जना महर्जन सिंह नियुक्त भएका छन्।

त्यस्तै, पूर्वाञ्चल विश्वविद्यालयमा प्रा.डा. पन्ना थापा, पोखरा विश्वविद्यालयमा प्रा.डा. निर्मला जमरकट्टेल, सुदूरपश्चिम विश्वविद्यालयमा प्रा.डा. तारादत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयमा सहप्राध्यापक डा. सुदिप ठकुरी र राजर्षि जनक विश्वविद्यालयमा डा. जीवन काफ्ले रजिस्ट्रार बनेका छन्।

नवनियुक्त पदाधिकारीले मंगलबार शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा पद तथा गोपनीयताको शपथ लिएका छन्।

शपथपछि शिक्षामन्त्री सस्मित पोखरेलले विश्वविद्यालय सुधार, अनुसन्धान र उच्च शिक्षाको गुणस्तर वृद्धि गर्न उपकुलपति तथा अन्य पदाधिकारीबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको बताए।

प्रकाशित मिति : १६ भाद्र २०८३, मंगलबार  ६ : ११ बजे