संविधान कार्यान्वयन र संरक्षणमा सहकार्य आवश्यक : सभामुख



काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले संविधानको प्रभावकारी कार्यान्वयन र संरक्षणका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताएका छन् ।

संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले नेपाली जनताको लामो संघर्ष, त्याग र बलिदानबाट २०७२ साल असोज ३ गते संविधानसभाबाट नेपालको संविधान जारी भएको ऐतिहासिक दिन रहेको बताए ।

सभामुख अर्यालले नेपालको बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषतालाई सम्मान गर्दै राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित र समृद्धिका लागि एकताबद्ध हुन संविधान दिवसले प्रेरणा दिने विश्वास व्यक्त गरे ।

उनले संविधानको सफल कार्यान्वयन र संरक्षणमा संघीय संसद्को भूमिका महत्वपूर्ण रहँदै आएको बताए । उनले समयसापेक्ष कानून निर्माण तथा परिमार्जन, जनसरोकारका विषय उठान र लोकतान्त्रिक मूल्यमान्यताको संरक्षणका लागि संघीय संसद् प्रतिबद्ध रहेको उल्लेख गरे ।

प्रकाशित मिति : ३ आश्विन २०८३, शनिबार  ९ : ४८ बजे