नागरिकलाई निराशामा राखेर राज्य सफल हुँदैन : राष्ट्रपति पौडेल



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकलाई निराशामा राखेर कुनै राज्य सफल हुन नसक्ने बताएका छन् । संविधान दिवसका अवसरमा शीतल निवासमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा राष्ट्रपति पौडेलले राजनीतिक परिवर्तनलाई वास्तविक रुपमा नै नागरिकको जीवनमा जोड्नु र व्यवहारमै लागू गर्नुपर्ने भन्दै नागरिकलाई निराशामा राखेर कुनै राज्य सफल हुन नसक्ने बताएका हुन् ।

उनले संविधानले एकात्मक र केन्द्रीकृत शासन प्रणालीको बदलामा संघीयता उपहार दिएको र यसलाई देश विकासको महत्त्वपूर्ण आधार बनाउनुपर्नेमा जोड दिए । उनले संविधान कागजमा लेखिएका शब्द वा वाक्यहरू सङ्ग्रह मात्र नभई नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा भएको उल्लेख गरे ।

सरकार जनताको मालिक नभई ‘सेवक’ बन्नुपर्ने र न्याय राज्यको मूल ध्येय हुनुपर्ने भन्दै उनले कुनै पनि नागरिकले आफ्नै देशमा आफूलाई एक्लो महसुस गर्न नपर्ने वातावरण बनाउन बनाउनुपर्ने बताए । संरचनागत लाभांशको परम्परागत चरित्र तोडेर सबैलाई समान हक, सामाजिक न्याय र समृद्धि सुनिश्चित गर्न तीनै तहका सरकारलाई उनले आग्रह गरे । राष्ट्रपति पौडेलले राजनीतिक दल तथा नेतृत्वले असहमतिलाई सम्मान गर्ने र आलोचनाबाट सिक्ने संस्कार बसाल्नुपर्ने बताए ।

संविधानलाई केवल भाषणमा सीमित नराखी नागरिकको जीवनमा उतार्न र राज्यसत्तालाई अझ लोकतान्त्रिक, न्यायपूर्ण तथा परिणाममुखी बनाउन उनले आह्वान गरे । साथै, उनले प्राकृतिक विपत्तिपछि पुनर्निर्माण गर्दा भत्किएका भौतिक संरचना मात्र नभई विस्थापित परिवारका सपनाहरू फर्काउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा राष्ट्रपति पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र साह, प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा, सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, कूटनीतिक नियोगका प्रतिनिधि, विभिन्न दलका नेताहरु सहभागी थिए ।

प्रकाशित मिति : ३ आश्विन २०८३, शनिबार  ५ : ३० बजे