न्युयोर्क । परराष्ट्रमन्त्री शिशिर खनालले भारतसँग नेपालको सम्बन्ध अहिले उत्कृष्ट अवस्थामा रहेको बताएका छन् । न्युयोर्कमा आयोजित एसिया सोसाइटीको एक कार्यक्रममा बोल्दै खनालले नेपाल र भारतबिचको सम्बन्ध बहुआयामिक र बलियो रहेको बताएका हुन् ।
नेपालको कुल वैदेशिक व्यापारको करिब दुई तिहाइ भारतसँग हुने उल्लेख गर्दै उनले दुई देशबिच सामाजिक तथा सांस्कृतिक सम्बन्धसमेत गहिरो रहेको बताए । परराष्ट्रमन्त्री खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा भारतीय विदेशमन्त्री एस जयशंकरसँग पनि भेटवार्ता गरेको जानकारी दिए ।
भेटमा नेपाल–भारत सम्बन्ध तथा दुवै देशका साझा हितका विषयमा छलफल भएको उनले बताए । विकास साझेदारी र ऊर्जा सहकार्यको प्रगतिबारे समेत कुराकानी भएको खनालको भनाइ छ । उनले भारतसँगको सम्बन्धलाई अझ बलियो बनाउँदै लैजानुपर्नेमा जोड दिए ।
भारत र चीनबिच नेपालले कसरी सन्तुलन कायम गरिरहेको छ भन्ने प्रश्नमा खनालले नेपालको विदेश नीतिलाई अब केवल वैचारिक दृष्टिकोणबाट नभई व्यावहारिक सहकार्य र आर्थिक अवसरका आधारमा अघि बढाउन खोजिएको बताए ।
छिमेकी मुलुकसँग सीमा लगायतका विवादित विषय हुन सक्ने भए पनि नेपालले सहकार्यका सम्भावित क्षेत्र पहिचान गरेर अघि बढ्नुपर्ने उनको भनाइ थियो । भारतसँगको ऊर्जा व्यापारलाई उनले यस्तो व्यावहारिक दृष्टिकोणको उदाहरणका रूपमा प्रस्तुत गरे ।
खनालका अनुसार नेपालको अर्थतन्त्र आयातमा धेरै निर्भर रहेकाले ऊर्जा र व्यापार सहकार्य नेपालको आर्थिक विकासका लागि महत्त्वपूर्ण छन् । परराष्ट्रमन्त्रीले नेपालको भौगोलिक अवस्थालाई आर्थिक अवसरमा रूपान्तरण गर्न सकिने बताए । उनले भारतसँग नेपालको १ हजार ७ सय किलोमिटरभन्दा बढी लामो खुला सीमा रहेको उल्लेख गरे ।
नेपालसँग आर्थिक रूपमा उपयोग गर्न सकिने करिब ४३ गिगावाट जलविद्युत् क्षमता रहेको र सन् २०३५ सम्म २८ हजार मेगावाटसम्म उत्पादन पुर्याउने दिशामा काम भइरहेको उनले बताए । यसबाट भारत हुँदै बंगलादेशसम्म स्वच्छ ऊर्जा निर्यातको सम्भावना रहेको उनको भनाइ छ ।
खनालले नेपाललाई केवल भारत र चीनको बिचमा रहेको सानो भू–आबद्ध मुलुकका रूपमा हेर्न नहुने बताए । भारत र चीन दुवै ठुला छिमेकी हुनु भौगोलिक वास्तविकता भए पनि त्यसले नेपालको आर्थिक महत्त्वाकाङ्क्षाको सीमा निर्धारण गर्न नहुने उनको भनाइ थियो ।
उनले चीनसँग पनि नेपालले व्यावहारिक र व्यापारमुखी सम्बन्ध अघि बढाउन चाहेको बताए । उत्तर र दक्षिणतर्फका सम्पर्क मार्गलाई एकअर्काको विकल्पका रूपमा नभई दुवै दिशालाई जोडेर नेपाललाई भू–आबद्ध अर्थतन्त्रबाट ‘ल्यान्ड–लिंक्ड’ आर्थिक केन्द्रमा रूपान्तरण गर्ने लक्ष्य रहेको उनले बताए ।





प्रतिक्रिया