काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपनेता गणेश पराजुलीले मधेसका जनताले दिएको अभिमतबाट मधेसका छोरालाई देशको प्रधानमन्त्री बनाएको बताएका छन्।
जनमत पार्टीको दोस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै पराजुलीले जनमत पार्टीसँग विभिन्न विचारमा सहकार्य गर्दै आएको बताए। जनताले दिएको विश्वास र अभिमतको अभिभारा पूरा गर्न दुई तिहाइ नजिकको सरकारले विभिन्न जिम्मेवारी सम्हालिरहेको उनको भनाइ थियो।
मधेसको अभिमत दिएर तपाईंहरूले मधेसको छोरालाई यो देशको प्रधानमन्त्री बनाउनुभएको छ, उनले भने, ‘समग्र राष्ट्रको जिम्मेवारी हाम्रो पार्टीलाई दिँदै गर्दा जनमत पार्टीसँग हामीले थुप्रै विचारमा सहकार्य गरेका छौँ।’
रास्वपा बहुवाद, उदार अर्थतन्त्र र सबै नेपालीको समतामूलक उन्नतिमा विश्वास गर्ने पार्टी भएको उनले बताए। हिमाल, पहाड र तराईबीच कुनै भेदभाव नरहने मान्यतालाई आत्मसात् गर्दै लोकतन्त्रलाई थप उन्नत बनाउने जिम्मेवारीसहित पार्टीले राजनीतिक बागडोर सम्हालेको उनको भनाइ थियो।
पराजुलीले राष्ट्रहितमा रहने सबै विचार र व्यवहारको सम्मान गर्ने बताए। जनमत पार्टीले उठाएका मुद्दा, रास्वपाले उठाएका मुद्दा तथा वर्तमान पुस्ताले उठाएका विषयमा समानता रहेको उनको भनाइ थियो।





प्रतिक्रिया