ललितपुरमा सम्पदा पुनर्निर्माणको काम लगभग सकियो, अब अमूर्त सम्पदामा केन्द्रित हुन्छौँ : चिरिबाबु महर्जन



ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम सम्पन्न भइसकेको दाबी गरेका छन् । 

शनिबार ललितपुरमा ज्यापू समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले बाँकी रहेका केही सम्पदाहरूको काम पनि ९५ प्रतिशत सकिएर अन्तिम रूप दिन मात्र बाँकी रहेको बताएका हुन् ।

ललितपुरको संस्कृति, संस्कार तथा मूर्त र अमूर्त सम्पदा संरक्षणमा ज्यापु समाजसँग सहकार्य गर्दै महानगरपालिकाले काम गरिरहेको महर्जनले स्पष्ट पारे । सम्पदा मूर्त र अमूर्त दुवै हुने भन्दै अमूर्त सम्पदाका विषयमा केही काम गर्न बाँकी रहेको उनले उल्लेख गरे । विगतमा बजेट अभावका कारण रोकिएका कतिपय अमूर्त सम्पदासम्बन्धी कामलाई पनि अघि बढाउने तयारी भइरहेको जानकारी उनले दिए ।

ज्यापु समाज र ललितपुर महानगरपालिका अन्योन्याश्रित सम्बन्ध भएका दुईवटा साझेदार हुन् । दुवैको सहकार्यमा हामीले यहाँका संस्कृति, संस्कार र अमूर्त सम्पदाको संरक्षण गरिरहेका छौँ,’ महर्जनले भने, ‘ललितपुर महानगरपालिकामा सम्पदाका सन्दर्भमा अधिकांश काम सम्पन्न भइसकेको छ । कुनै पनि मठ, मन्दिर, शिवालय वा देवाली बाँकी छैनन् । पूर्ण रूपमा सकिन बाँकी रहेका पनि ९५ प्रतिशतभन्दा बढी सकिएका छन् । अब बजेट अभावले रोकिएका अमूर्त सम्पदाका काम सुरु गर्न लागेका छौँ ।’

कार्यक्रममा प्रमुख महर्जनले ज्यापु समाजले निर्माण गरेका भौतिक संरचनाको अधिकतम सदुपयोग गर्नुपर्नेमा जोड दिए । ज्यापु समाजको भवन १६ हजार ५०० वर्गफिट र वृद्धाश्रम भवन २३ हजार ५०० वर्गफिट क्षेत्रफलमा निर्माण गरिएको तथ्याङ्क उनले प्रस्तुत गरे । ११० शय्या क्षमता रहेको सो वृद्धाश्रम हाल सीमित क्षमतामा मात्रै सञ्चालन भइरहेकाले आगामी ६ देखि १२ महिनाभित्र पूर्ण क्षमतामा सञ्चालन गर्ने लक्ष्यका साथ अघि बढ्न उनले आग्रह गरे ।

वृद्धाश्रम सेवा २४ घण्टा सञ्चालन गर्न र खानेपानीको समस्या समाधानका लागि ‘डिप ट्युबवेल’ निर्माण गर्न महानगरपालिकाले आवश्यक बजेट व्यवस्थापन गरिसकेको उनले जानकारी दिए । ज्यापु समाजको उद्देश्य पूरा गर्न उपलब्ध भौतिक संरचना र स्रोतसाधनको प्रभावकारी उपयोग आवश्यक रहेको औँल्याउँदै वृद्धाश्रमको पूर्ण क्षमतामा सञ्चालनका लागि महानगरपालिका सहकार्य गर्न सधैँ तयार रहेको उनले दोहोर्‍याए ।

प्रकाशित मिति : १७ आश्विन २०८३, शनिबार  २ : ५७ बजे