कांग्रेस केन्द्रीय सदस्यमा प्रचण्डको उम्मेदवारी



दाङ : नेपाली कांग्रेसका महासमिति सदस्य एवं लुम्बिनी प्रदेशका निवर्तमान उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्।

नेपाली कांग्रेस लुम्बिनी प्रदेशको प्रवक्ताको जिम्मेवारी बहन गरिसकेका न्यौपानेले कांग्रेसको १५ औँ महाधिवेशनमा आफ्नो केन्द्रीय सदस्यको उम्मेदवारी रहने जानकारी दिए।

न्यौपाने नेविसंघका पूर्व सहमहामन्त्री समेत हुन्। कांग्रेसका वर्तमान महामन्त्री प्रदीप पौडेलले नेविसंघको नेतृत्व गर्दा न्यौपाने सहमहामन्त्री थिए। नेविसंघ केन्द्रीय पदाधिकारीको जिम्मेवारी सम्हालेका न्यौपाने कांग्रेसको १४ औँ महाधिवेशनमा कांग्रेस लुम्बिनी प्रदेश सदस्यका रूपमा निर्वाचित भएका थिए। उनी लुम्बिनी कांग्रेसको प्रवक्ता समेत चुनिएका थिए। गत प्रदेशसभा निर्वाचनमा दाङ क्षेत्र नम्बर २ (ख) को उम्मेदवार बनेका न्यौपाने उक्त निर्वाचनमा निर्वाचित भएका थिए।

प्रकाशित मिति : १७ आश्विन २०८३, शनिबार  ३ : ३४ बजे