१५ गतेसम्म उच्च हिमाली क्षेत्रमा नजान पर्यटक तथा पर्वतारोहीलाई आग्रह



काठमाडौँ : पर्यटन विभागले कात्तिक ११ देखि १५ गतेसम्म देशका विभिन्न स्थानमा भारी वर्षा तथा हिमाली क्षेत्रमा हिमपात र हिमपहिरोको जोखिम रहेको भन्दै उच्च हिमाली क्षेत्रमा नजान पर्यटक तथा पर्वतारोहीलाई आग्रह गरेको छ।

नेपाल मौसम विज्ञान विभागको मौसम बुलेटिनअनुसार उक्त अवधिमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षा हुन सक्ने सम्भावना छ।

वर्षाका कारण बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्नुका साथै हिमाली क्षेत्रमा हिमआँधी र हिमपहिरो जान सक्ने पूर्वानुमान गरिएको छ।

प्रतिकूल मौसमले पदयात्रा तथा हिमाल आरोहण प्रभावित हुन सक्ने भएकाले उच्च हिमाली क्षेत्रमा नजान र त्यहाँ पुगिसकेका पर्वतारोही तथा पदयात्रीलाई सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ। साथै, आधिकारिक निकायबाट जारी हुने मौसमसम्बन्धी अद्यावधिक सूचनाका आधारमा यात्रा योजना बनाउन आग्रह गरिएको छ।

यसैगरी, खुम्बु, मनाङलगायतका हिमाली क्षेत्रमा तथा काठमाडौं र पोखरास्थित स्वास्थ्य संस्थामा उच्च हिमाली क्षेत्रमा देखिने स्वास्थ्य समस्या (एक्युट माउन्टेन सिकनेस) को उपचार सेवा सहज र निरन्तर उपलब्ध गराउन विभागले सम्बन्धित निकायलाई अपिल गरेको छ।

प्रकाशित मिति : १२ कार्तिक २०८३, बुधबार  १२ : १५ बजे