काठमाडौँ । नेकपा (एमाले)की वरिष्ठ नेता तथा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीभित्र स्वस्थ आलोचना र आत्मालोचनाको संस्कृतिको विकासमा जोड दिएकी छन्। राजधानीमा आयोजित पार्टीको राष्ट्रिय कार्यकर्ता भेलालाई बिहीबार सम्बोधन गर्दै उनले आलोचना र आत्मालोचनालाई पार्टी सुदृढीकरणको महत्वपूर्ण अस्त्रका रूपमा व्याख्या गरिन्।
“पार्टीमा कसैको स्वस्थ आलोचना समाप्त पार्नका लागि गरिएको हुँदैन र आत्मालोचना हिनताबोधको पर्याय होइन,” नेता भण्डारीले भनिन्, “असल कम्युनिष्ट पार्टीमा सही प्रवृत्तिले उचित स्थान पाएन भने पार्टी जीवन्त र प्रभावकारी हुन सक्दैन।” उनले पार्टीमा देखिएका कमीकमजोरीहरूलाई सच्याउँदै आलोचना र आत्मालोचनाको पद्धतिलाई संस्थागत गर्नुपर्ने आवश्यकता औँल्याइन्।
लामो समय संवैधानिक जिम्मेवारीमा रहेर पुनः सक्रिय राजनीतिमा फर्किएकी भण्डारीले आफ्नो फिर्ती कुनै पद वा सुविधाका लागि नभई पार्टीको वैचारिक विकास र संगठनात्मक सुदृढीकरणका लागि भएको स्पष्ट पारिन्। उनले अहिलेको राजनीतिक परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै सरकारको शैली लोकतान्त्रिक मूल्य–मान्यताअनुकूल नभएको आरोप लगाइन्।
“कानुनी प्रक्रिया पूरा नगरी प्रतिशोधपूर्ण व्यवहार गर्ने वा राजनीतिक असहमतिका आधारमा व्यक्तिलाई निशाना बनाउने कार्य लोकतान्त्रिक संस्कार होइन,” उनले भनिन्। उनले संविधानको रक्षा, सुशासन र जनताको दैनिक समस्या समाधानमा एमालेले सशक्त भूमिका खेल्नुपर्नेमा जोड दिइन्।
गत निर्वाचनको नतिजाबाट निराश नहुन कार्यकर्तालाई आग्रह गर्दै उनले भनिन्, “हारले आन्दोलनको भविष्य निर्धारण गर्दैन। विगतका अनुभव र ऐतिहासिक विरासतबाट शिक्षा लिँदै नयाँ ऊर्जा, उत्साह र आत्मविश्वासका साथ अघि बढ्नुपर्छ।” नेता भण्डारीले पार्टीका जनसंगठनहरूलाई गतिशील बनाउँदै, युवापुस्ताको विदेश पलायन रोक्न र जनतासँगको सम्बन्ध सुमधुर बनाउन नेता–कार्यकर्ताहरूलाई निर्देशन दिइन्।





प्रतिक्रिया