भारतले थप ५९४ मेगावाट विद्युत् बिक्रीका लागि दियो अनुमति



काठमाडौं । नेपालले भारतमा थप ५९४ मेगावाट विद्युत् बिक्री गर्न पाउने भएको छ। भारतीय विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृति दिएसँगै वर्षायाममा उत्पादन भएको अतिरिक्त बिजुली भारतीय ऊर्जा एक्सचेन्ज (आईईएक्स) मार्फत बिक्री गर्ने बाटो खुलेको हो।

प्रधानमन्त्री वालेन्द्र शाह ९बालेन० को आसन्न भारत भ्रमणको पूर्वसन्ध्यामा आएको यो निर्णयलाई दुई देशबीचको ऊर्जा व्यापारका दृष्टिले महत्त्वपूर्ण मानिएको छ।

राखिएको स्वीकृतिअनुसार नेपालले सन् २०२६ नोभेम्बर १८ देखि २०२७ जुन १४ सम्म उक्त परिमाणको विद्युत् भारतीय बजारमा बेच्न सक्नेछ। आईईएक्सको डे-अहेड र रियल टाइम मार्केटमार्फत प्रतिस्पर्धी मूल्यमा विद्युत् कारोबार गर्न अनुमति दिइएको हो।

स्वीकृत विद्युत्मध्ये २०५ मेगावाट कटैया–कुशाहा, रामनगर–सुरजपुर र रक्सौल–परवानीपुर १३२ केभी प्रसारण लाइनबाट निर्यात हुनेछ। बाँकी ३८९ मेगावाट ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइनमार्फत भारतीय बजारमा पठाइनेछ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठका अनुसार एनभीभीएनमार्फत ३८९ मेगावाट र पीटीसीमार्फत २०५ मेगावाट विद्युत् बिक्री गर्न स्वीकृति प्राप्त भएको हो।

यसअघि नेपालले भारतका हरियाणा र बिहार राज्यमा मध्यकालीन विद्युत् बिक्री सम्झौताअन्तर्गत जुनदेखि अक्टोबरसम्म बिजुली निर्यात गर्दै आएको थियो। उक्त सम्झौताको निर्यात अवधि अक्टोबर ३१ मा सकिएपछि वैकल्पिक बजारका रूपमा आईईएक्समा बिक्री गर्न प्राधिकरणले भारतीय निकायसँग अनुमति मागेको थियो।

यसैबीच, भारतले सेती खोला जलविद्युत् आयोजनाबाट उत्पादित थप २१.३४ मेगावाट विद्युत् पनि आईईएक्समा बिक्री गर्न अनुमति दिएको छ। उक्त आयोजनाको विद्युत् सन् २०२६ नोभेम्बर १८ देखि २०२७ अगस्ट ३१ सम्म निर्यात गर्न सकिनेछ।

यससँगै नेपालबाट भारततर्फ विद्युत् निर्यातका लागि स्वीकृत क्षमता १ हजार १९८ मेगावाट पुगेको प्राधिकरणले जनाएको छ। अर्कोतर्फ, आगामी हिउँदमा आन्तरिक माग धान्न भारतबाट १ हजार ४ मेगावाटसम्म विद्युत् आयात गर्ने अनुमति पनि प्राप्त भइसकेको छ।

नेपालको विद्युत् व्यापार वर्षायाम र हिउँदको उत्पादनमा निर्भर रहँदै आएको छ। वर्षायाममा नदीमा पानीको बहाव बढ्दा जलविद्युत् उत्पादन घरेलु मागभन्दा बढी हुने भएकाले नेपालले भारत र बंगलादेशमा बिजुली निर्यात गर्छ। तर, हिउँदमा नदीको बहाव घटेसँगै उत्पादन कम हुने हुँदा भारतबाटै विद्युत् आयात गर्नुपर्ने अवस्था छ।

भारतीय सञ्चारमाध्यम इन्डियन एक्सप्रेसका अनुसार आर्थिक वर्ष २०२५/२६ मा नेपालले भारत र बंगलादेशमा विद्युत् निर्यात गरेर २९ अर्ब ३० करोड रुपैयाँ आम्दानी गरेको थियो। अघिल्लो आर्थिक वर्षमा यस्तो आम्दानी १७ अर्ब ४७ करोड रुपैयाँ थियो। यसले नेपालको अर्थतन्त्रमा विद्युत् निर्यातको योगदान बढ्दै गएको देखाउँछ। नेपालले पछिल्लो समय विद्युत् उत्पादन विस्तारसँगै सीमापार प्रसारण पूर्वाधार र बजार पहुँचलाई समेत प्राथमिकता दिँदै आएको छ।

प्रकाशित मिति : ३ मंसिर २०८३, बिहिबार  ३ : १० बजे