विदेशीको शंकास्पद गतिविधि बढेपछि काभ्रे प्रशासनले अनुगमन तीव्र बनाउँदै



काभ्रे । काभ्रेपलाञ्चोकको बिभिन्न स्थानमा विदेशी नागरिकहरुको शंकास्पद गतिविधि बढेपछि स्थानीय प्रशासनले अनुगमनलाई तीव्र बनाउने बनाउने भएको छ । मंगलबार र बुधबार बिभिन्न स्थानमा शंकास्पद गतिविधि गरेको अवस्थामा ठूलो संख्यामा विदेशी नागरिक फेला परेपछि जिल्ला प्रशासन कार्यालय काभ्रेले अनुगमनलाई तीव्र बनाउने जनाएको हो ।

मंगलबार प्रशासन कार्यालय र काभ्रे प्रहरीले पाँचखालबाट शंकास्पद गतिविधि गरिरहेका ३६ जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको थियो भने बुधबार बल्थलीस्थित बल्थली माउन्टेन रिसोर्टबाट ३६ जना जापानी र ४ जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको थियो ।

कांभ्रेका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले विदेशी नागरिक केही होटल तथा घरहरूमा लामो समयदेखि भाडामा बसेर शङ्कास्पद गतिविधि गरिरहेको सूचनाका आधारमा प्रशासन कार्यालय, प्रहरी र पर्यटन कार्यालयको संयुक्त टोलीले अनुगमन गरेको बताए । अनुगमनका क्रममा पाँचखालमा प्रहरीको उपस्थितिपछि भागाभाग भएको र पूरै होटल जिम्मा लिएर बसेका व्यक्तिहरूसँग मोबाइल, ल्यापटप, डेस्कटप कम्प्युटर भेटिएको जानकारी दिए ।

त्यस्तै बल्थलीमा विदेशी पुलिसका ब्याजहरू, जापानी भाषाका सामग्री, ’ह्युगो पुलिस स्टेसन’ लेखिएको भित्ते सामग्री, १५–१६ वटा टेलिफोन बुथ जस्ता संरचना, ब्युटी पार्लर, मोबाइल, ल्यापटप र डेस्कटप लगायतका सामग्री फेला परेको अधिकारीको भनाइ छ ।

उनले प्रहरी तथा सीआईबीले थप अनुसन्धान र नियन्त्रणको काम गरिरहेको तथा पक्राउ परेकाहरूलाई अध्यागमन विभागमा बुझाइने उल्लेख गरे । होटल व्यवसायीहरूलाई आफ्नो होटलमा बस्ने व्यक्तिको पहिचान, बसाइ अवधि र गतिविधिबारे जिम्मेवार र सचेत रहन तथा अवाञ्छित गतिविधि हुन नदिन आग्रह गरिएको उनको भनाइ छ ।

प्रकाशित मिति : ३ मंसिर २०८३, बिहिबार  ३ : ५३ बजे