विश्व प्रहरी सम्मेलनमा सहभागी भएर फर्किए गृहमन्त्री गुरुङ



काठमाडौँ : गृहमन्त्री सुधन गुरुङ संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा आयोजित विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी भएर स्वदेश फर्किएका छन्। उनी बिहीबार नेपाल फर्किएका हुन्।

गुरुङ कात्तिक २७ गते साँझ यूएई सरकारको निमन्त्रणामा विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन दुबई प्रस्थान गरेका थिए। नोभेम्बर १६ देखि १८ अर्थात् कात्तिक ३० देखि मंसिर २ गतेसम्म सञ्चालन भएको सम्मेलनमा विश्वभरका प्रहरी अधिकारी, सुरक्षा निकायका प्रतिनिधि तथा विज्ञहरू सहभागी थिए।

सम्मेलनको मुख्य विषय ‘कनेक्टेड फर इम्प्याक्ट : युनाइटिङ ग्लोबल पुलिसिङ टु सेफगार्ड फ्युचर जेनेरेसन्स’ रहेको थियो। सम्मेलनमा कृत्रिम बौद्धिकता (एआई) को प्रयोग, साइबर अपराध तथा डिजिटल ठगी नियन्त्रण, वित्तीय अपराध, लागूऔषध कारोबार, मानव तस्करी, सीमा सुरक्षा, आधुनिक अनुसन्धान प्रविधि र अन्तर्राष्ट्रिय प्रहरी सहकार्यलगायत विषयमा छलफल भएको थियो। सम्मेलनमा ९० देशका २२० सुरक्षा अधिकारी तथा विज्ञ सहभागी भएका थिए।

भ्रमणका क्रममा गृहमन्त्री गुरुङले यूएईका उपप्रधानमन्त्री तथा गृहमन्त्री शेख सैफ बिन जायद अल नाह्यानसँग भेटवार्ता गरेका थिए। उनले यूएईका वैदेशिक व्यापारमन्त्री डा. थानी बिन अहमद अल जेयोदीसँग पनि छलफल गरेका थिए। भेटवार्तामा सुरक्षा प्रविधि, प्रहरी सेवाको आधुनिकीकरण, ‘फेसलेस पुलिसिङ’ तथा सुरक्षा क्षेत्रमा प्राविधिक सहयोग आदानप्रदानका विषय उठाइएको थियो।

गृहमन्त्रीको सचिवालयका अनुसार बूढीगण्डकी जलविद्युत् आयोजनामा यूएईको सम्भावित लगानीका विषयमा समेत छलफल भएको थियो। यद्यपि, ऊर्जा मन्त्रालयको कार्यक्षेत्रमा पर्ने आयोजनाको लगानीसम्बन्धी विषय गृह मन्त्रालयको नेतृत्वले उठाएपछि भ्रमणको प्राथमिकता र कार्यक्षेत्रबारे प्रश्नसमेत उठेको छ।

भ्रमणका क्रममा गुरुङले यूएईमा रहेका नेपाली श्रमिकका समस्या र उनीहरूमाथि हुने ठगीका विषयलाई पनि चासो दिएका थिए। दुबईमा नेपालीले नै नेपालीलाई ठगी गर्ने गरेको गुनासो आएपछि त्यस्ता व्यक्तिलाई कानुनी कारबाहीको दायरामा ल्याउन उनले नेपाली दूतावास तथा सम्बन्धित अधिकारीलाई निर्देशन दिएका थिए।

त्यस्तै, यूएईको जेबेल अली क्षेत्रमा अलपत्र परेका नेपाली श्रमिकलाई उद्धार गरी स्वदेश फर्काउने विषयमा पनि उनले चासो देखाएका थिए। श्रमिकहरूले आफूहरूलाई वैदेशिक रोजगारीमा पठाउने म्यानपावर कम्पनीले बढी रकम असुलेको र सम्झौताअनुसार काम तथा सुविधा नदिएको गुनासो गरेका थिए। उनीहरूलाई उद्धार गरी दुई दिनभित्र स्वदेश फर्काउने प्रक्रिया अघि बढाइएको गृहमन्त्रीले बताएका थिए।

सम्मेलनमा नेपाल प्रहरीका तर्फबाट एसएसपी ऋषिराम कँडेलको नेतृत्वमा डीएसपी गोविन्द राउत र प्रहरी निरीक्षक देवराज काफ्ले सहभागी भएका थिए। प्रहरी महानिरीक्षक भने सम्मेलनमा सहभागी भएका थिएनन्। गृहमन्त्रीसँगै गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्ले र स्वकीय सचिव जेम्स कार्की पनि भ्रमण टोलीमा सहभागी थिए।

प्रकाशित मिति : ३ मंसिर २०८३, बिहिबार  ४ : ४३ बजे