देउवा समूहको कांग्रेस रुपन्देही जिल्ला अधिवेशन मङ्सिर ६ गते



बुटवल : नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले रुपन्देही जिल्ला अधिवेशन मङ्सिर ६ गते गर्ने भएको छ । शुक्रबार भैरहवामा आयोजित पत्रकार सम्मेलनमा अधिवेशन व्यवस्थापन समितिका संयोजक अधिवक्ता कृष्णप्रसाद पोखरेलले अधिवेशन भैरहवास्थित सनस्टार होटलमा हुने जानकारी दिए ।

उनका अनुसार अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । अधिवेशनअघि आइतबार बिहान ११ बजे भैरहवास्थित बुद्धचोकबाट र्‍याली निकालिनेछ । यसअघि जिल्लाका पाँच वटै निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन सम्पन्न भइसकेको उनले बताए ।

अधिवेशनबाट सकेसम्म सर्वसम्मत रूपमा जिल्ला कार्यसमिति चयन गर्ने तयारी रहेको पोखरेलले बताए । सहमति हुन नसके निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गरिने उनले स्पष्ट पारे ।

अधिवेशनमा पार्टीका केन्द्रीय नेता डा. शशाङ्क कोइराला, विमलेन्द्र निधिलगायतका नेताहरू सहभागी हुने उनले जानकारी दिए । ‘यो कांग्रेसको नियमित जिल्ला अधिवेशन हो । त्यसपछि मङ्सिर ७ गते दाङमा लुम्बिनी प्रदेशको अधिवेशन हुँदैछ,’ पोखरेलले भने ।

कार्यक्रममा कांग्रेस नेता तथा रुपन्देही जिल्लाका केन्द्रीय प्रतिनिधि डा. दामोदर भुसालले जिल्ला र प्रदेश अधिवेशनपछि मङ्सिर २१, २२ र २३ गते केन्द्रीय महाधिवेशनमार्फत पार्टीको नयाँ नेतृत्व चयन हुने बताए ।

उनले यसअघि सम्पन्न कांग्रेसको विशेष महाधिवेशन गगन थापा र विश्वप्रकाश शर्मा समूहको भएको टिप्पणी गर्दै अब पार्टीको आधिकारिक महाधिवेशन हुन लागेको दाबी गरे । नियमित महाधिवेशनले पार्टीका सबै पक्षको भावनालाई समेट्ने उनको भनाइ थियो ।

प्रकाशित मिति : ४ मंसिर २०८३, शुक्रबार  २ : ५९ बजे