एमाले हार्नको लागि जन्मिएकै होइन : अध्यक्ष ओली



काठमाडौँ : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले हार्नको लागि जन्मिएको पार्टी नभएकाले फेरि छिट्टै सरकारको नेतृत्व गर्ने दाबी गरेका छन्।

शुक्रवार एमाले केन्द्रीय कार्यालय च्यासलमा आयोजित राष्ट्रिय जनप्रतिनिधि भेलाललाई सम्बोधन गर्दै अध्यक्ष ओलीले फेरि जित्ने दाबी गरेका हुन्। ‘अहिले हामी केन्द्रीय तहबाट गर्ने ठाउँमा छैनौँ तर धेरै ढिलो होला जस्तो लाग्दैन। हामी फेरि कानुन बनाउने ठाउँमा पुग्छौँ,’ ओलीले भने, ‘हाम्रो पार्टी हार्नका लागि जन्मिएको पार्टी नै होइन। हामी जित्छौँ।’

मुलुकको विकास गर्नुका साथै राष्ट्रियताको रक्षा गर्ने जिम्मेवारी समेत एमालेकै भएको उनको भनाइ थियो। ‘हामी जित्छौँ यो त स्पष्ट छ नि। यो पार्टीले देश बनाउनै पर्नेछ। यसले देश जोगाउँछ, यसले देश बनाउँछ, राष्ट्रियताको रक्षा गर्छ,’ ओलीले भने।

उनले आगामी निर्वाचनमा स्थानीय तह मुख्य प्रतिस्पर्धाको थलो भएको भन्दै जनप्रतिनिधिलाई आफ्नो काममा देखिएका कमजोरी सच्याउन निर्देशन दिए। विगतमा कमजोरी भए सच्याउन र जनतामाझ विश्वास कायम गर्नेगरी काम गर्न समेत निर्देशन दिए।

‘अब भोलि निर्वाचनमा लडाइँको थलो स्थानीय तह बन्ने वाला छ। यदि हिजो केही कमजोरी रहे भने केही पोखिएको छ भने हतार हतार उठाउनुस् है साथिहरू,’ ओलीले भने, ‘पोखिएको हुनसक्छ कतै हतार हतार उठाउनुस्, हतार हतार मिलाउनुस्।’

उनले जनप्रतिनिधिले राम्रो काम गरेको अवस्थामा पुनः सोही पदमा निर्वाचित हुने सम्भावना रहने भन्दै जनताको विश्वास जित्ने गरी काम गर्नुपर्नेमा जोड दिए।

‘कुनै पदबाहेक राम्रो काम गर्नुभएको छ भने फेरि त्यही पदमा दोहोरिने सम्भावना पनि होला। त्यहाँका पार्टी कार्यकर्ता, नागरिकले दोहो¥याउनुपर्छ भन्ने स्थिति आएको भए त्यसो हुन पनि सक्छ। जितिने स्थिति बनेको भए,’ उनले थपे, ‘त्यसो भएको हुनाले मुख्यतः जनप्रतिनिधिहरूले नै कामलाई सोझ्याउनुपर्छ।’

उनले संविधान तथा संघ र प्रदेशका कानुनसँग नबाझिने गरी स्थानीय तहले आफ्नै कानुन र ऐन निर्माण गरेर काम गर्नसक्ने भन्दै आवश्यकताअनुसार ऐन निर्माण गर्न समेत आग्रह गरे।

‘संविधान तथा संघ र प्रदेशका कानुनसँग नबाझिने गरी तपाईंहरूले आफ्ना कानुन र ऐन बनाउन सक्नुहुन्छ। त्यसो भएको हुनाले त्यहीँबाट गर्ने हो,’ उनले भने।

उनले पार्टीका कार्यकर्ता तथा आम नागरिकलाई खुशी बनाउने गरी कार्य सम्पदान गर्न समेत जनप्रतिनिधिलाई आग्रह गरे।

प्रकाशित मिति : ४ मंसिर २०८३, शुक्रबार  ५ : २९ बजे