एनपीएल उपाधि जितेपछि जर्ज मुन्से– यो जित सबै खेलाडी र प्रशिक्षकको मेहनतको प्रतिफल हो



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उपाधि जितेपछि सुदूरपश्चिम रोयल्सका ओपनर जर्ज मुन्सेले यो सफलता आफ्नो व्यक्तिगत उपलब्धिभन्दा पनि सम्पूर्ण टोलीको मेहनतको प्रतिफल भएको बताएका छन् ।

शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न फाइनलमा लुम्बिनी लायन्सलाई पराजित गर्दै सुदूरपश्चिमले उपाधि जितेको हो ।

उपाधि जितेपछि प्रतिक्रिया दिँदै मुन्सेले पछिल्ला केही वर्षदेखि लगातार फाइनलमा पुगेर पनि उपाधि जित्न नसकेको टोलीका लागि यसपटकको सफलता विशेष रहेको बताए ।

‘म अन्तिम समयमा टोलीमा जोडिएको हुँ । त्यसैले यो उपाधिको वास्तविक हकदार सबै खेलाडी र प्रशिक्षक हुनुहुन्छ । उहाँहरू पछिल्ला केही वर्षदेखि निरन्तर मेहनत गरिरहनुभएको थियो । फाइनलमा पुग्ने तर उपाधि जित्न नसक्ने अवस्था थियो । त्यसैले यसपटक जित हासिल गर्न पाउँदा निकै खुसी छु,’ उनले भने ।

मुन्सेले नेपाली समर्थकबाट पाएको मायाको पनि खुलेर प्रशंसा गरे । खेलका क्रममा आफूले १५–१६ रन बनाउँदा नै दर्शकले आफ्नो नाम लिएर हुटिङ गरेको अनुभव निकै विशेष रहेको उनले सुनाए । खचाखच भरिएको त्रिवि मैदानको वातावरणमा खेल्न पाउनु आफ्नो लागि अविस्मरणीय अनुभव भएको उनको भनाइ थियो ।

उनले फाइनलमा सुदूरपश्चिमले सबै पक्षमा उत्कृष्ट प्रदर्शन गरेको पनि बताए । ‘म यहाँ आएदेखि टोलीको प्रदर्शनका हिसाबले यो पहिलो खेल थियो, जहाँ हामीले कुनै गल्ती गरेनौँ । फिल्डिङ शानदार थियो, बलिङ अद्भुत थियो र ब्याटिङमा पनि लक्ष्य पूरा गर्‍यौँ । यो साँच्चै उत्कृष्ट सामूहिक प्रदर्शन थियो,’ उनले भने ।

एनपीएलमा सहभागी हुने अवसरबारे मुन्सेले आफू क्यारेबियनबाट घर फर्किएका बेला टोलीबाट फोन आएको बताए । नेपाली समर्थक र नेपाली खेलाडीसँग खेल्न पाउनु सधैँ विशेष अवसर भएको उल्लेख गर्दै उनले सुदूरपश्चिमका खेलाडीहरूको मेहनत, आत्मीयता र जित्ने चाहनाले आफू प्रभावित भएको बताए ।

उनका अनुसार फ्रेन्चाइज क्रिकेटमा उपाधि जितेपछि ड्रेसिङ रुममा देखिने गर्व र खुसीको माहोल निकै विशेष हुन्छ। खेलाडीको मुख्य उद्देश्य नै जित र उत्कृष्ट प्रदर्शन भएकाले धेरैभन्दा धेरै ट्रफी जित्न चाहने उनले बताए ।

यस्तै, सुदूरपश्चिम रोयल्ससँग पराजित भएपछि लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले आफ्नो टोलीले समग्र प्रतियोगितामा च्याम्पियनको स्तरको प्रदर्शन गरेको बताए । रोहितले लिग चरण र क्वालिफायर वानमा टोलीले गरेको प्रदर्शनप्रति सन्तुष्टि व्यक्त गरे ।

‘जुन हिसाबले हामीले लिग स्टेज र क्वालिफायर वान खेल्यौँ, मलाई लाग्छ हामीले च्याम्पियनजस्तै खेल्यौँ । आजको दिन हाम्रो थिएन । समग्र प्रतियोगिता हाम्रो लागि निकै राम्रो रह्यो,’ उनले भने ।

रोहितले फाइनलमा सुदूरपश्चिमका ब्याटर विशेषगरी मुन्सीले उत्कृष्ट ब्याटिङ गरेको भन्दै उनको प्रशंसा गरे । लुम्बिनीले बनाएको स्कोर सम्मानजनक भए पनि विपक्षी ब्याटरले राम्रो प्रदर्शन गर्दा नतिजा आफ्नो पक्षमा आउन नसकेको उनको भनाइ थियो ।

बलिङतर्फ आफ्ना खेलाडीले शतप्रतिशत प्रयास गरेको उल्लेख गर्दै उनले बलरहरूको प्रदर्शनलाई कमजोर भन्न नमिल्ने बताए । सबै बलरले आफ्नो योजना कार्यान्वयन गर्ने प्रयास गरे पनि त्यो दिन टोलीका लागि केही कुरा अनुकूल नभएको उनले स्वीकार गरे ।

फिल्डिङमा भएको क्याच ड्रपलाई पनि उनले खेलको एउटा अवसरका रूपमा व्याख्या गरे । ‘जानीजानी क्याच छोडेको होइन । खेलमा कहिलेकाहीँ अवसर छुट्छन्, कहिलेकाहीँ समातिन्छन् । त्यसलाई ठूलो मुद्दा बनाउन चाहन्नँ । आज हाम्रो दिन थिएन,’ रोहितले भने ।

उनले दोस्रो इनिङमा शीत (ड्यु) परेपछि बलिङ गर्न कठिन भएको पनि बताए । पहिलो इनिङमा पिचले बलरलाई केही सहयोग गरे पनि दोस्रो इनिङमा विकेट ब्याटिङका लागि सहज भएको उनको विश्लेषण थियो । शीतका कारण बल राम्रोसँग स्किड भएर ब्याटमा आउँदा फास्ट बलर र स्पिनर दुवैलाई विकेटबाट पर्याप्त सहयोग नमिलेको उनले बताए ।

लुम्बिनीको ब्याटिङका क्रममा भएको रनआउटप्रति पनि रोहितले दुःख व्यक्त गरे । उक्त रनआउटका कारण टोलीको रन गति केही समय सुस्त भएको भन्दै उनले त्यसो नभएको भए स्कोर १६५ देखि १७० सम्म पुग्न सक्ने सम्भावना रहेको बताए ।

विदेशी खेलाडीको योगदानबारे बोल्दै रोहितले डिक्वेला, डार्सी र ट्रम्पलम्यान लगायत खेलाडीबाट प्राप्त अनुभव र सुझाव टोलीका लागि निकै महत्त्वपूर्ण रहेको बताए । उनीहरूको उपस्थितिले लुम्बिनीको प्रदर्शनमा फरक पारेको उनको भनाइ थियो ।

त्यस्तै, नेपाली खेलाडीहरूको प्रदर्शनप्रति पनि उनले खुसी व्यक्त गरे । विशेषगरी रिजन र लोकेशको प्रदर्शनको प्रशंसा गर्दै कमलसहित अन्य नेपाली खेलाडीले पनि राम्रो योगदान दिएको उनले बताए । एनपीएलमा स्थानीय खेलाडीले देखाएको प्रदर्शन नेपाली क्रिकेटको विकासका लागि सकारात्मक भएको रोहितको धारणा थियो ।

उनले सिजन १ देखि नै लुम्बिनीलाई निरन्तर साथ र माया दिँदै आएका समर्थकलाई धन्यवाद दिए ।

फाइनलमा हार बेहोर्नुपरे पनि समर्थकलाई निराश नहुन आग्रह गर्दै उनले आगामी सिजन अझ बलियो भएर फर्किने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : ६ मंसिर २०८३, आइतबार  ९ : ४५ बजे