काठमाडौँ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग नेपालका लागि बेलायतका राजदूत रोब फेनले शिष्टाचार भेट गरेका छन् ।
रक्षा मन्त्रालयमा भएको भेटमा नेपाल र बेलायतबीच सदियौँदेखिको मैत्रीपूर्ण सम्बन्धलाई आगामी दिनमा अझ प्रगाढ बनाउँदै द्विपक्षीय हितलाई थप प्रवर्द्धन गर्ने विषयमा छलफल भएको मन्त्रालयका प्रवक्ता प्रकाश पौडेलले जानकारी दिए ।
रक्षामन्त्री खड्काले दुई देशबीच सरकारीस्तरमा मात्र नभई जनस्तरमा समेत घनिष्ट सम्बन्ध रहेको चर्चा गर्दै राजदूत फेनको कार्यकालमा आपसी सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरे । नेपालसँग कूटनीतिक सम्बन्ध कायम गर्ने सबैभन्दा पुरानो मित्र बेलायतले नेपालको आर्थिक– सामाजिक विकासमा गरेको योगदानको सराहना गर्दै उनले पारस्परिक सहयोगका क्षेत्र आगामी दिनमा अझ विस्तार हुने विश्वास व्यक्त गरे ।
सेवा निवृत्त ब्रिटिस गोर्खा सैनिकलाई बेलायती सैनिकसरह निवृत्तिभरणलगायत सुविधा उपलब्ध गराउने सम्बन्धमा बेलायत सरकारबाट आवश्यक सहयोग हुनेमा आफू ढुक्क रहेको मन्त्री खड्काले बताउनुभएको प्रवक्ता पौडेलले जानकारी दिए । उनीहरूबीच जलवायु परिवर्तन, दुई देशका सेनाबीच सहयोग आदान–प्रदानलगायतका विषयमा पनि छलफल भएको थियो ।
दुई सय वर्ष पुरानो बेलायत–नेपाल सम्बन्धका विविध पक्षबारे चर्चा गर्दै राजदूत फेनले संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्तिसेनामा खटिएका नेपाली सेनाले गरेको योगदानको प्रशंसा गरे । उनले नेपालको विकास प्रयासमा सक्दो सहयोग गर्न बेलायत प्रतिबद्ध रहेको बताए ।
प्रतिक्रिया