फ्रन्टलाइन हस्पिटलमा पहिलोपटक सफल मिनिमली इन्भेसिभ ओपन हर्ट सर्जरी



फ्रन्टलाइन हस्पिटलले आधुनिक मुटु उपचार सेवातर्फ महत्वपूर्ण उपलब्धि हासिल गर्दै पहिलोपटक मिनिमली इन्भेसिभ कार्डियाक सर्जरी प्रविधिबाट ओपन हर्ट सर्जरी सफलतापूर्वक सम्पन्न गरेको छ । उक्त शल्यक्रियामार्फत एट्रियल सेप्टल डिफेक्ट अर्थात् मुटुमा रहेको प्वाल सफलतापूर्वक बन्द गरिएको अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार झापा निवासी २२ वर्षीय ब्रम्हदेव ज्वाला सिंहमा उक्त शल्यक्रिया सफलतापूर्वक गरिएको हो । बिरामीको आर्थिक अवस्था कमजोर रहेको मूल्यांकनपछि अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत शल्यक्रिया, चिकित्सक शुल्क, अस्पताल शुल्क, औषधि, आईसीयू सेवा, प्रयोगशाला परीक्षणलगायत सम्पूर्ण उपचार सेवा शतप्रतिशत निःशुल्क उपलब्ध गराएको जनाएको छ ।

फ्रन्टलाइन हस्पिटलले आर्थिक अभावका कारण कुनै पनि नागरिक जीवनरक्षक उपचारबाट वञ्चित हुन नहुने आफ्नो विश्वास रहेको उल्लेख गर्दै विपन्न तथा उपचार खर्च वहन गर्न नसक्ने बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा पहुँचयोग्य बनाउने प्रतिबद्धता दोहोर्‍याएको छ ।

उक्त शल्यक्रिया वरिष्ठ कार्डियाक सर्जन प्रा. डा. अनिल भट्टराईको नेतृत्वमा सम्पन्न भएको हो । उहाँका अनुसार मिनिमली इन्भेसिभ कार्डियाक सर्जरी आधुनिक कार्डियाक सर्जरीको प्रभावकारी प्रविधि हो, जसबाट बिरामीले कम पीडा, कम रक्तस्राव, न्यून संक्रमण जोखिम तथा छिटो स्वास्थ्य लाभ प्राप्त गर्न सक्छन् । फ्रन्टलाइन हस्पिटलमा यस्तो अत्याधुनिक सेवा सफलतापूर्वक सुरु हुनु बिरामीका लागि महत्वपूर्ण उपलब्धि भएको र अब धेरै बिरामीले उच्चस्तरीय कार्डियाक उपचार यही अस्पतालबाट प्राप्त गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो ।

फ्रन्टलाइन हस्पिटलका अध्यक्ष नवराज पाण्डेले यस उपलब्धिले अस्पतालको सामाजिक उत्तरदायित्व तथा गुणस्तरीय स्वास्थ्य सेवाप्रतिको प्रतिबद्धतालाई थप मजबुत बनाएको बताउनुभयो । उहाँले अस्पताल उपचार गर्ने संस्था मात्र नभई समाजप्रति उत्तरदायी स्वास्थ्य संस्था पनि भएको उल्लेख गर्दै आर्थिक अभावका कारण कसैले पनि जीवनरक्षक उपचारबाट वञ्चित हुनु नहुने विश्वासअनुसार योग्य तथा विपन्न बिरामीलाई निःशुल्क उपचार उपलब्ध गराउँदै आएको र आगामी दिनमा पनि अत्याधुनिक प्रविधि, दक्ष जनशक्ति तथा मानवीय सेवामार्फत गुणस्तरीय स्वास्थ्य सेवा सबै नागरिकसम्म पुर्‍याउने प्रतिबद्धता दोहोर्‍याउनुभयो ।

अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. अशोक वर्धनले यो उपलब्धि एउटा सफल शल्यक्रियामा मात्र सीमित नभई फ्रन्टलाइन हस्पिटलको चिकित्सा क्षमता, आधुनिक पूर्वाधार, दक्ष विशेषज्ञ टोली तथा बिरामीप्रतिको उत्तरदायित्वको प्रतीक भएको बताउनुभयो। उहाँले विश्वस्तरीय स्वास्थ्य सेवा नेपालमै उपलब्ध गराई बिरामीलाई विदेश जानुपर्ने बाध्यता कम गर्नु अस्पतालको दीर्घकालीन लक्ष्य रहेको उल्लेख गर्दै आगामी दिनमा अझ जटिल मुटु तथा अन्य विशिष्टीकृत शल्यक्रियासमेत सफलतापूर्वक सञ्चालन गरिने जानकारी दिनुभयो ।

यस उपलब्धिलाई सफल बनाउन योगदान पुर्‍याउने कार्डियाक सर्जरी टोलीका प्रा. डा. अनिल भट्टराई, डा. प्रभात खकुराल, डा. समिर कुमार यादव, लक्ष्मी श्रेष्ठ भट्टराई, एनेस्थेसिया विभागका डा. विभुस श्रेष्ठ तथा उहाँको टोली, अपरेशन थिएटर नर्सिङ टोली, आईसीयू टोली, चिकित्सक, नर्स र सम्पूर्ण कर्मचारीप्रति फ्रन्टलाइन हस्पिटलले आभार तथा बधाई व्यक्त गरेको छ । साथै अस्पतालले आगामी दिनमा पनि अत्याधुनिक प्रविधि, दक्ष विशेषज्ञ चिकित्सक, सुरक्षित उपचार प्रणाली तथा सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राखी गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०८३, बिहिबार  ९ : ०९ बजे